Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा कोरोनाका बिरामी बढ्दै 

बैतडी- जिल्ला अस्पताल बैतडीमा कोरोनाका बिरामीको संख्या बढ्दै गएको छ । पछिल्लो समयमा कोरोनाका बिरामीहरुको संख्या बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । उनले भने ‘केही दिन पहिलादेखि कोरोनाका बिरामीको संख्या दिनानुदिन बढ्दै गएका छन् । मध्यम जटीलक खालका बिरामीहरु अस्पतालमा भर्ना भएका छन् ।’

अस्पतालमा ८ बेडको आइसोलेसन रहेपनि बिरामीको संख्या बढ्न थालेपछि चार बेड थप गर्ने तयारी भएको उनले बताए । अस्पतालमै राख्नुपर्ने बिरामीहरुलाई मात्रै अस्पतालमा राखिएको र समान्य लक्षण भएकाहरुलाई संस्थागत आइसोलेसन र होम आइसोलेसनमा बस्ने सल्लाह सहित पठाउने गरिएको डा. जोशीले बताए । 

Atrya hospital

जिल्ला अस्पतालमा उपचाररत कोरोना बिरामी मध्ये दुईजनालाई अक्सिजन सपोटमा राखिएको डा. जोशीले जानकारी दिए । जिल्लामा सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा अक्सिजनको अभाव शुरु भएको उनले बताए । उनले भने ‘बिरामीको संख्या बढ्ने बित्तिकै अक्सिजनको अभाव हुन्छ । त्यसैले यो महामारीबाट बच्नका लागि स्वास्थ्यका मापदण्ड परिपालना गर्न आवश्यक छ ।’

यसैबीच जिल्ला अस्पताल बैतडीले आकस्मिक र प्रसुती बाहेकका सबै सेवा बन्द गरिएका जनाएको छ । 

कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि अन्य सेवाहरु बन्द गरिएका जिल्ला अस्पतालले जनाएको छ । केही स्वास्थ्य समस्या आएमा अस्पतालको फोनमा सम्पर्क गरेर परामर्श लिन सकिने डा. जोशीले बताए । उनले भने ‘यो महामारीका बीचमा हामी अन्य सेवाका लागि अस्पताल नआउन आग्रह गर्दछौं । अन्य माध्यमबाट परामर्श लिन सकिन्छ ।’ 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update