Sagun Khabar
सुदूरपश्चिममा बाढीपहिरोको वितण्डा: १४ जनाको मृत्यु, कहाँ कति क्षति ?

 

आइतबारदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिममा बाढी, पहिरो र डुबानले जनजिवन प्रभावित भएको छ। प्रदेशमा वर्षासँगै आएको बाढीपहिरेमा परी १४ जनाको मृत्यु भएको छ।  बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ। वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए। मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की छन्। 

यस्तै डोटीमा घर भत्किँदा ९ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर २ जना मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ। मृत्यु हुनेहरुमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा रहेको प्रहरीले जनाएको छ। प्रहरी कार्यालयबाट २ किलोमिटरको दुरीको रहेको उक्त स्थानमा उद्दारका लागि प्रहरी निरीक्षक किसन चन्दको कमाण्डको टोली खटिएको छ। यस्तै जोरायलमा ६ र शिखरमा एक जनाको मृत्यु भएको खबर छ। विस्तृत विवरण आउन बाकी छ।

Atrya hospital

 

उता डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दका अनुसार हालसम्म एक जनाको मृत्यु भएको जानकारी आएको बताए। 

 

यस्तै डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो। घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको स्थानीय प्रदीप शाहीले बताए। खोलाले बगाएपछि करिब ५ सय मिटर तल उनको शव भेटिएको प्रदीप शाहीले बताए। अहिले सकायल चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।  

 

 

 

बझाङका २३ जना बेपत्ता छन्
बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको शान्ती मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले जानकारी दिए। उनका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन्। गगने सार्की रोजगारीका लागि भारतमा छन्। उनका माईला छोरा काले सार्की मात्र शकुशल छन्। 

 

गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका स्थानीय विस्थापित भएका छन् भने ७ घर पुरिएका छन्। स्थानीय शिक्षक साउदका अनुसार तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन्। बाढीले सडक अवरुद्ध भएको र सञ्चार सेवा अवरुद्ध हुँदा समयमै खबर नपाएकोले उद्दारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए। 

कैलालीमा तीन जना बेपत्ता 
कैलालीमा तीन जना बेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु कर्णालीमा माछा मार्न गएका थिए। उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

सेतीमा ६० जना फसे, कञ्चनपुरका ५ जनाको उद्दार
सेती नदीमा आएको बाढीमा बैतडीका ६० जना फसेका छन्। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ५ को ढुङ्गाडमा सेती नदीको छेउकै बस्तीमा बस्दै आएका १० परिवारका ६० जना फसेको हुन्। गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष रामबहादुर धामीले बस्तीको चारतिर नदी बगिरहेको र बीचमा ६० जना फसेको जानकारी दिए। हेलिकोप्टरबाट उद्धारको प्रयास भए पनि सफल हुन सकेको छैन। उनका अनुसार ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका छन्। उनीहरुमध्ये अधिकांश बाढीको जोखिम हुने भन्दै राति नै सुरक्षित स्थानमा सरेका छन्। उनीहरुलाई स्थानीय शारदा माध्यमिक विद्यालयमा राखिएको छ। 

यता कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेट्टिमा फसेका ५ जनाको उद्दार गरिएको छ। उद्दार गर्न सुर्खेतबाट आएको सेनाको पश्चिम कमाण्ड हेलिकोप्टरमार्फत उद्दार गरिएको हो। प्रतिकुल मौसमका वाबजुद सेनाको टोलिले बेलुका ५ बजे उद्दारसुर्खेत कमान्डका जर्नेल प्रेम शाहीले सबैलाई सकुशल उद्दार गरिएको बताए। कैलालीको मोहन्यालमा फसेका दुई जनाको भने उद्धार हुन बाँकी छ। 

कर्णाली नदी कैलालीका बस्तीमा पस्यो
कर्णाली नदीको बाढी गाउँ पसेपछि दर्जनौ घर डुबानमा परेका छन्। कर्णाली नदीमा आएको बाढीले जानकी गाउँपालिका नम्बर ९ पूर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरमाथिको स्ल्याप भत्काएपछि बाढी बस्तीमा पसेको हो। पुलको पूर्व तिरको स्ल्याप भत्किएर नदी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। नदीको पानी नजिकै रहेको बस्तीमा पसेर ५० बढी घर डुबाएको उनले बताए। साथै पूल भत्किँदा आवतजावत पूर्ण रुपमा बन्द भएको छ। यस्तै मंगलबार दिउँसो टीकापुर नगरपालिका–५ शाहीपुरस्थित निर्माणाधिन तटबन्ध भत्किएर नदी गाउँ पसेको छ। 

गाउँमा पसेको बाढीले क्षति पुर्याउन सक्ने भन्दै दक्षिणका गाउँका बासिन्दालाई माइकिङ गरेर घर छोडन लगाइएको टीकापुर नगरपालिका–५ का वडा सदस्य बलबीर चौधरीले जानकारी दिए। यस्तै आज कर्णाली नदीको बहाव ७ वर्ष यताकै उच्च पुगेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार २०७१ सालपछि सबैभन्दा बढी कर्णालीमा बहाव देखिएको हो। २०७१ सालमा १६ मिटरसम्म पानीको बहाव पुगेको बताउदै जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले आज झण्डै १३ मिटर पुगेको जानकारी दिए। पौने ११ मिटर बहाव पुगेपछि खतरा नाघेको मानिन्छ। 

यस्तै कैलालीका खुटिया, मोहना लगायतका नदीमा आएको बाढीले सयौं घर डुबानमा परेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका लगायतमा सयौं घरमा पानी पसेको छ। 

महाकाली नदीको जलस्तर अहिलेसम्मकै उच्च 
आज महाकाली नदीको जलस्तर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। महाकालीको जलस्तर ५ लाख ४७ हजार २ सय ३७ क्युसेक पुगेको हो। यो महाकाली नदिमा शारदा ब्यारेज बनेदेखि इतिहासकै उच्च बहाब छ। सन् १९३४ मा ५ लाख २२ हजार, २०१३ मा ५ लाख ४४ हजार ४ सय ७६ र आज ५ लाख ४७ हजार २ सय ३७ क्युसेक मापन भएको हो। नदीमा बहाव उच्च भएपछि शारदा व्यरेजमा खतराको चिन्ह रातो बत्ति बालिएको छ। पुलमा आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ। 

यस्तै कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा नौं सयभन्दा बढी घर डुबानमा परेका छन्। महाकाली नदीको पानी गाउँ पस्दा नगरपालिकाको वडा नं. १० का अधिकांस घर डुबानमा परेका हुन्। बाढी पीडितलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए। उनका अनुसार बाढी पीडितलाई उद्धार गरी अम्भिका माविमा राखिएको छ। यस्तै महाकाली नदी किनारमा रहेको चर्चित ‘भाइरल रोड’ भत्काएको छ। 

सेती नदीको पक्की पुल जोखिममा
डोटीको सेती नदीमाथिको पक्की पुल जोखिममा परेको छ। तीन दिनदेखिको वर्षाका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि पुल जोखिममा परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयले जारी गरेको बुलेटिनअनुसार पुलमा आवागमन बन्द गरिएको छ। नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ। यस्तै सेती नदीमा आएको बाढी बस्ती पसेको छ।

दिपायलस्थित सेती नदी र द्वारीखोलाको तटमा रहेका दक्षिणकाली वर्कसप, डोटी चेम्बरको नव निर्मित भवन, दिल्पेश्वर माविको भवन, महादेव मन्दिरलगायत संरचना डुबानमा परिसकेका छन्। दक्षिणकाली वर्कसपमा राखिएका दुईवटा बोलेरो जिप पनि डुबेका छन्। दिपायल सिलगढी नगरपालिका–३ का वडाध्यक्ष चक्र माझीले वडा नं २ र ३ को सिमानामा पर्ने पुल बजारमा सेती नदी पसेर बस्ती जोखिममा परेको बताए।

सुदूरपश्चिमका ९ जिल्लालाई २५/२५ लाख दिने प्रदेश सरकारको निर्णय
सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालको लागि विपद् व्यवस्थापन, राहत र उद्धारको लागि ९ वटै जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारकी प्रवक्ता पूर्णा जोशीले जानकारी दिइन्। 

आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेकी उनले क्षतिको यकिन विवरण आए थप  राहत उपलब्ध गराउने बताइन्। प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय गरेको छ। अविरल वर्षाका कारण प्रदेशमा विभिन्न ठाउँमा क्षति पुगेकाले आकस्मिक बैठक बसेको थियो।

#दिनेश खबर #

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  २०:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update