बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा गाउँपालिकाको केन्द्रसँग जोड्ने सडकको ट्रयाक खुलेको छ ।
वडा नं ५ र ६ लाई गाउँपालिकाको केन्द्रसँग जोड्ने महाकाली करिडोरको ट्रयाक खुलेको हो । सडक जोडिएसँगै वडा नं ५ र ६ का बासिन्दालाई गाउँपालिकाको केन्द्रसम्म पुग्न सहज भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
सडक निर्माण नहुँदा सम्म गाउँपालिकाको वडा नं ५ र ६ का बासिन्दालाई गाउँपालिकाको केन्द्र पुग्न निकै समस्या रहेको थियो । सडक निर्माण कार्य भएपछि अब स्थानीयहरुलाई पालिकामा पुग्न सहज हुने उनले बताए । उनले भने, ‘यसअघि सडक नहुँदा यहाँका बासिन्दाहरुलाई पालिकाको केन्द्र पुग्न निकै समस्या हुने गरेको थियो । घण्टौं पैदल हिड्नुपथ्र्यो, अब त्यो समस्या हल भएको छ ।’
यो सडकलाई स्तरोन्नति गर्न सके पञ्चेश्वरबाट दुई घण्टामै सदरमुकाम पुग्न सकिने अध्यक्ष चन्दले बताए ।
कडा चट्टानका कारण सडक निर्माणमा निकै समस्या रहेकोमा अहिले समस्या समाधान भएको अध्यक्ष चन्दले बताए ।
यो सँगै पञ्चेश्वर गाउँपालिकाका सबै वडा सडक सञ्जालमा जोडिएका अध्यक्ष चन्दले बताए । गाउँपालिकाका हरेक वडाबाट पालिकाको केन्द्रसम्म पुग्ने कच्ची सडकहरु निर्माण भएका उनले बताए ।





