Sagun Khabar
बैतडीको सिगासमा ट्याक्टर दुर्घटना : ट्याक्टर साहुको मृत्यु, चालक फरार 

बैतडी –बैतडीको सिगास गाउँपालिका वडा नम्बर– ३ सिण्न्याखेत नजिकै सिन्ण्याखेत–गर्जे सडकखण्डमा आज ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

आइतबार बिहान साढे ११ बजेतिर जुडाखोलाबाट बालुवा बोकेर सिण्न्याखेततर्फ जाँदै गरेकोे सुपप्र ०२–००१ त १३८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर साहु सिगास गाउँपालिका–३ धमकट्टेका अन्दाजी ७२ बर्षीय हरुवा साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

बालुवा बोकेको ट्याक्टर ओरालोमा अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक इन्द्रराज भट्ट नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ । 

ट्याक्टर चालक सिगास गाउँपालिका ४ घर भई हाल कैलालीको गोदावरी नगरपालिका –२ अत्तरिया बस्दै आएका डम्मरसिंह धामी फरार रहेको प्रहरीले जनाएको छ । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए । 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update