Sagun Khabar
बैतडीको पाटन नगरपालिकाले आइसोलेसन सेन्टर बनाउने 

बैतडी–कोरोना भाईरसको संक्रमण फैलिँदै गएपछि बैतडीको पाटन नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले दुईओटा आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । 

खोड्पे आसपास र पाटन बजार क्षेत्र आसपासमा आइसोलेसन सेन्टर निर्माणका लागि पहल गर्ने निर्णय भएको उनले बताए । अनारखोलीमा रहेको सडक डिभिजनको कार्यालय र पाटनमा रहेको शैक्षिक तालिम केन्द्रको भवनलाई आइसोलेसनका लागि प्रस्ताव गरिएको महराले बताए । उनले भने ‘ती दुवै ठाउँमा आइसोलेसन सेन्टरका लागि प्रस्ताव गरिएको छ । सम्बन्धित पक्षसंग छलफल भएपछि मात्रै निष्कर्षमा पुगिनेछ । भवनको क्षमता अनुसार बेड राख्ने तयारी गरेका छौं । पहिला भवनकै बिषयमा छलफल गरिरहेका छौं ।’

Atrya hospital

यस्तै बाहिरबाट वडामा भित्रिएका नागरिकहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बसाउन वडाले पहल गर्नुपर्ने निर्णय भएको छ भने स्वास्थ्यका मापदण्ड परिपालना गर्न सबैलाई बैठकले आग्रह गरेको छ । 

यस्तै कोरोनाका संक्रमित मध्ये आर्थिक अवस्था कमजोर भएकाहरुलाई रेफर गर्नुपरेमा एम्बुलेन्स तथा गाडीको व्यवस्था नगरपालिकाले गर्ने निर्णय समेत भएको छ । 

पाटन नगरपालिकामा स्वास्थ्यकर्मी सहित अहिले २७ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update