काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाण्डौले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो । काठमाण्डौका राशिद खानले ५०, कप्तान करण केसीले ४४ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामी र हुसैन तलातले २÷२ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । कर्णालीका आरिफुल इस्लामले ४४, हुसैन तलातले ४०, पवन सर्राफले नटआउट ३० रन बनाए । काठमाण्डौका कप्तान करण केसीले २ विकेट लिए ।
प्रतियोगितामा काठमाण्डौ यो पहिलो जीत हो । काठमाण्डौ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । यस्तै कर्णालीको यो पहिलो हार हो । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र दोस्रो खेलमा विराटनगर किङ्ग्सलाई ४ विकेटले हराएको थियो ।
एनपीएलमा आजको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे शुरू हुनेछ ।
प्रतियोगितामा चितवनको यो तेस्रो खेल हो । चितवनले पहिलो खेलमा विराटनगरलाई ८ रनले हराएको थियो भने लुम्बिनी लायन्ससँगको दोस्रो खेल नतिजाविहीन भएको थियो ।
यस्तै सुदूरपश्चिमको यो चौथो खेल हो । सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनीसँग ७ विकेट र तेस्रो खेलमा विराटनगरसँग ३५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो ।
आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।





