बैतडी - बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज सम्पन्न वार्षिक जात्राका अवसरमा दर्शनार्थीहरूलाई सहज रूपमा आउजाउ गर्न एक स्थानीय युवाले निःशुल्क यातायात सेवा प्रदान गरेका छन् ।
दशरथचन्द नगरपालिका–४, भट्टीगाउँ निवासी ३० वर्षीय युवा समाजसेवी एसपी भट्टले आज जात्रा अवधिभर ५ वटा हाइस गाडीमार्फत भक्तजनहरूलाई निःशुल्क सेवा दिएका हुन् ।
भट्टले सतबाँझ, गिरेगडा, देहीमाण्डौ, जोशीबुङ्गा तथा गोठालापानी जस्ता मुख्य क्षेत्रहरूबाट देहीमाण्डौस्थित निङ्गलाशैनी भगवती मन्दिरसम्म जाने र फर्कने दर्शनार्थीहरूका लागि गाडी सञ्चालन गरेका थिए ।
धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई मनन गर्दै जात्रामा आउने वृद्धवृद्धा, महिला तथा टाढाका भक्तजनहरूलाई यात्रामा कुनै सास्ती नहोस् भन्ने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको युवा समाजसेवी भट्टले बताए ।
चाडबाड तथा जात्राका बेला यातायातको सास्ती खेप्नुपर्ने बाध्यता रहेका बेला भट्टले देखाएको यस सामाजिक र परोपकारी कार्यको स्थानीयवासी तथा दर्शनार्थीहरूले उच्च प्रशंसा गरेका छन् ।




