Sagun Khabar
जेलमा रहेका भाइ दीपकलाई छुटाउन खोज्दा, डडेल्धुराका लगानी बोर्ड पूर्वसीईओ सुशील भट्ट पनि पक्राउ

डडेल्धुरा– डडेल्धुरा अजयमेरु गाउँपालिका–३ पुख्र्यौली घर भएका प्रभावशाली भट्ट दाजुभाइ दुवै जना कानुनी फन्दामा परेका छन् ।

जेलमा रहेका भाइ दीपक भट्टलाई छुटाउनका लागि अनुचित प्रभाव र वातावरण बनाउन खोजेको आरोप लागिरहेका बेला लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका दाजु सुशील भट्टलाई काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले शनिबार ललितपुरको सानेपाबाट पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार सुशील भट्टलाई मुख्य गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को कसुरमा नियन्त्रणमा लिइएको हो ।

यसका साथै, कानुनी कारबाहीमा परेका भाइ दीपक भट्टलाई जेलमुक्त गराउन शक्ति र स्रोतको दुरुपयोग गर्दै बिचौलियाको भूमिका खेलेको विषयमा समेत प्रहरीले उनीमाथि सूक्ष्म अनुसन्धान अघि बढाएको छ ।

व्यापारिक तथा राजनीतिक वृत्तमा प्रभावशाली मानिने भट्ट दाजुभाइमध्ये भाइ दीपक पक्राउ परे लगतै उनलाई जोगाउने कसरतमा लागेका दाजु सुशीलसमेत पक्राउ परेपछि यो प्रकरण थप पेचिलो बनेको छ ।

सुशील भट्टलाई हाल काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  ०७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update