Sagun Khabar
शिवनाथको भावी ‘नेतृत्व’ सम्हाल्ने तयारीमा जितेन्द्र?

बैतडी – काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाले बुनेका सपना, बोकेको सङ्घर्ष र काँधमा काढेको जिम्मेवारीको कथा आज दक्षिण कोरिया हुँदै स्वदेशसम्मै एउटा उदाहरणीय दृष्टान्त बनेको छ ।

सामान्य श्रमजीवीका रूपमा दक्षिण कोरिया प्रवेश गरेका जितेन्द्र सिंह महताको कोरिया बसाइ  व्यक्तिगत जीविकोपार्जनमा मात्र सीमित रहेन । डेढ दशक लामो प्रवास यात्रालाई ज्ञान, सीप, सामाजिक सेवा र उच्च शिक्षा हासिल गर्ने थलो बनाउँदै हालै स्वदेश फर्किएका महताको यात्राले नयाँ पुस्ताका युवाहरूलाई दृढ इच्छाशक्ति र समाजप्रतिको उत्तरदायित्वको ठुलो सन्देश दिएको छ ।

कोरियामा रहँदा व्यावसायिक र व्यक्तिगत स्तरोन्नतिका साथै महताले गैरआवासीय नेपाली सङ्घ नेपाली जनसम्पर्क समिति, सुदूरपश्चिम प्रदेश समाज (पूर्वअध्यक्ष तथा संरक्षक) लगायत दर्जनौँ सामाजिक तथा वैचारिक सङ्गठनहरूको नेतृत्वदायी भूमिका निर्वाह गरे ।

सुदूरपश्चिमको कला–संस्कृति संरक्षण, आपत्कालीन राहत कोषको स्थापना, तथा कोरियामा रहेका नेपाली समुदायबीच आपसी भाइचारा अभिवृद्धिमा उनको भूमिका सदैव अग्रणी रह्यो । वैचारिक भिन्नताका बाबजुद सबैलाई एउटै मञ्चमा जोड्ने संवादको संस्कृति बसालेका महता प्रवासमा समन्वयकारी युवा नेताका रूपमा स्थापित भए ।

महताको सामाजिक सक्रियता प्रवासका औपचारिक कार्यक्रममा मात्र सीमित रहेन । बि.स.२०७२ को महाभूकम्पका वेला होस् वा दार्चुलादेखि पूर्वसम्म आएका बाढीपहिरोका विपद्मा उहाँको नेतृत्वमा लाखौँ रुपैयाँ बराबरको राहत पारदर्शी ढङ्गले पीडितसम्म पु¥याइएको थियो ।

यस्तै, कर्णालीको विकट मुगु जिल्लाका विद्यार्थीहरूलाई शैक्षिक सहयोग पु¥याउनेदेखि बैतडीका दुर्गम विद्यालयहरूमा शिक्षा विकास कोष मार्फत विपन्न तथा प्रतिभाशाली बालबालिकालाई प्रोत्साहन गर्ने अभियानमा उनी निरन्तर सक्रिय रहे ।

जितेन्द्रको यो जनमुखी दृष्टिकोणको जग उनको पारिवारिक पृष्ठभूमिमा समेत जोडिएको छ । उनका पिता स्वर्गीय जयसिंह महता २०५४ सालमा बैतडीका जिल्ला विकास समिति (जिविस) सभापति रही जनप्रिय र विकासप्रेमी नेताका रूपमा परिचित थिए । पिताले छाडेको निष्ठा र विकासको पदचापलाई पच्छाउँदै जितेन्द्रले पनि आफूलाई परिपक्व, दूरदर्शी र अध्ययनशील नेतृत्वका रूपमा उभ्याएका छन् ।

कोरियामा उहाँलाई दिइएको भव्य र आत्मीय बिदाइ तथा अक्टोबर ८ यहि असोज २२ मा काठमाडौँ अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरूले गरेको उत्साहजनक स्वागतले उनीप्रतिको जनविश्वास दर्शाउँछ । प्रवासमा आर्जन गरेको ज्ञान, अनुशासन, प्रविधि र अन्तर्राष्ट्रिय अनुभवलाई अब आफ्नै जन्मभूमि र देशको रूपान्तरणमा लगाउने सोचका साथ  फर्किएका छन् ।

राजनीतिक निराशा र युवा पलायनको वर्तमान परिदृश्यमा जितेन्द्र सिंह महताको स्वदेश फिर्ती र समाजप्रतिको निष्ठाले तन्नेरी पुस्तामा नयाँ आशा जगाएको छ । श्रम र वैदेशिक अनुभव मात्र पलायन होइन, देश निर्माणको तयारी पनि हुन सक्छ भन्ने तथ्यलाई उनले उजागर गरेका छन् ।

मातृभूमि फर्किएका महताको आगामी यात्रा समाजसेवा, दुर्गमको शैक्षिक सुधार र देशलाई असल, परिपक्व एवं रूपान्तरणकारी युवा नेतृत्व प्रदान गर्ने दिशातर्फ लक्षित हुने अपेक्षा गरिएको छ ।

स्थानीय आवश्यकता र भावी नेतृत्वको चर्चा

महताको स्वदेश फिर्ती सामाजिक सञ्जालको शुभकामना वा स्वागतमा मात्र सीमित छैन, यसले स्थानीय स्तरमा एउटा नयाँ तरङ्ग पैदा गरेको छ । पछिल्लो समय शिवनाथ गाउँपालिकामा सक्षम, अध्ययनशील र अन्तर्राष्ट्रिय अनुभव बोकेको युवा नेतृत्वको खोजी भइरहेका वेला महताको आगमनलाई सर्वसाधारण र स्थानीय राजनीतिक वृत्तले निकै अर्थपूर्ण रूपमा हेरेका छन् ।

शिवनाथका बासिन्दाहरू माझ यतिवेला आगामी स्थानीय निर्वाचनमा महतालाई गाउँपालिकाको नेतृत्व   मा ल्याउनुपर्छ भन्ने बहस र सार्वजनिक आवाज बाक्लीन थालेको छ । आफ्ना पिता स्वर्गीय जयसिंह महताले साविक जिविस सभापतिका रूपमा कायम गरेको जनप्रिय छवि र जितेन्द्र स्वयम्ले वैदेशिक रोजगार, समाजसेवा र शिक्षा क्षेत्रमा देखाएको दूरदृष्टिका कारण स्थानीय बासिन्दाहरू उनलाई भावी नेतृत्वका रूपमा देख्न चाहन्छन् ।

यद्यपि महता स्वयम्ले औपचारिक रूपमा उम्मेदवारीको घोषणा गरिसकेका छैनन् । तर, प्रवासबाट फर्किएका एक अध्ययनशील युवाप्रतिको यो जनलहर र भरोसाले शिवनाथ गाउँपालिकामा आगामी दिनमा सक्षम र रूपान्तरणकारी युवा नेतृत्वको उदय हुने बलियो सङ्केत भने गरिसकेको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १०:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update