बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कने परदेशीको संख्या बढ्दै गएको छ । पछिल्लो १० दिनयता झुलाघाट नाकाबाट स्वदेश फर्कनेको संख्या बढेको इलाका प्रहरी कार्यालय झुलाघाटले जनाएको छ ।
बडादशैँ शुरु हुनुभन्दा पहिला नै झुलाघाटबाट स्वदेश फर्कने नागरिकको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय झुलाघाट प्रमुख, प्रहरी सहायक निरीक्षक हर्कबहादुर ढाँटले बताए । नाकाबाट दैनिक दुईसयदेखि २ सय ५० जना झुलाघाट नाकाबाट स्वदेश फर्किरहेका उनले बताए ।
रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा रहेका नेपालीहरु झुलाघाट नाकाबाट स्वदेश फर्किरहेका प्रहरी सहायक निरीक्षक ढाँटले बताए । मौसमी रोजगारीका लागि भारतको झुलाघाट,पिथौरागढ क्षेत्रमा रहेका नेपालीका साथै लामो समयदेखि भारतका दिल्ली,पञ्जाब लगायतका क्षेत्रमा काम गरिरहेका नेपालीहरु झुलाघाट नाकाबाट स्वदेश फर्किरहेका हुन् ।
झुलाघाट नाकाबाट सुदूरपश्चिमका साथै कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक स्वदेश फर्किरहेका हुन् । प्रहरी सहायक निरीक्षक ढाँटले भने,‘झुलाघाट नाकाबाट दैनिक दुईसय बढी जना नागरिक स्वदेश फर्किरहेका छन् । रोजगारीका लागि भारतका विभिन्न स्थानमा रहेका नेपालीहरु दशैँ मनाउन घर फर्किरहेका हुन् ।’
सीमा नाका झुलाघाटबाट स्वदेश फर्कनेमा बैतडी, बझाङ, बाजुरा लगायत जिल्लाका नागरिक बढी रहेका प्रहरीले जनाएको छ ।
सीमा नाका झुलाघाटबाट स्वदेश फर्कने नागरिकको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालनमा रहेको प्रहरी सहायक निरीक्षक ढाँटले बताए । स्वदेश फर्कदा नागरिकलाई कुनै समस्या नहोस भनेर यात्रु सहायता कक्ष सञ्चालन गरिएको उनले बताए ।
सीमा नाका झुलाघाटका साथै जिल्लाका अन्य स्थानहरुमा समेत यात्रु सहायता कक्ष सञ्चालनमा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । यात्राका क्रममा कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न समेत उनले आग्रह गरे ।
चाडपर्वको समयमा यात्रुहरुले बढी भाडा तिर्नुपर्ने अवस्था आउन सक्ने भएकाले कसैले तोकिएको भन्दा बढी लिएको पाइएमा कारवाही हुने प्रहरी निरीक्षक सिंहले बताए ।




