Sagun Khabar
शंकर संस्कृत मावि मूलखटालीको बार्षिकोत्सव सम्पन्न 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–६ स्थित शंकर संस्कृत मावि मूलखटालीको ७४ औं बार्षिकोत्सव आज सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । समारोहमा सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहरा, प्रवक्ता प्रताप महरा र वडा नं ६ का वडा अध्यक्ष मदनराज अवस्थी बिशिष्ट अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा विद्यालयका सहायक प्रधानाध्यापक पुष्करराज पन्तले १ करोड ६२ लाख ७४ हजार ३१६ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरे । समारोहमा उनले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरे । 

बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको छ । 

बार्षिकोत्सव समरोहमा बोल्दै सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले मावि मूलखटालीको विकासका लागि आफूले सक्दो पहल गर्ने बताइन् । विद्यालयको भौतिक र शैक्षिक क्षेत्र सुधारमा आफूले सहयोग गर्ने उनले बताइन् । 

यस्तै सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर मावि मूलखटाली यो क्षेत्रको शैक्षिक धरोहर भएकाले यसको विकासमा आफूले सक्दो पहल गर्ने बताए । 

कक्षा १२ सम्मको पढाइ हुने शंकर संस्कृत मावि मूलखटालीमा कक्षा ६ देखि १० सम्म संस्कृत बिषयको समेत पढाइ हुने गरेको छ । यो विद्यालयमा झण्डै चार सय विद्यार्थी अध्ययनरत रहेका सहायक प्रधानाध्यापक पन्तले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update