Sagun Khabar
बैतडीको प्रसिद्ध  त्रिपुरासुन्दरी भगवती मन्दिरमा अषाढी जात्रा शुरु

बैतडी- बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आजदेखि अषाढी जात्रा शुरु भएको छ । हरेक बर्ष सो मन्दिरमा असार शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गरेको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए । असार शुक्ल अष्टमीको राति भगवतीको बिशेष पूजाआजा हुने उनले बताए । 

अषाढी जात्रामा त्रिपुरासुन्दरी भगवतीको मूल मन्दिरबाट कापडी गाउँमा रहेको मन्दिरमा सवारी हुने चलन रही आएको अध्यक्ष थापाले बताए । उनले भने ‘यो जात्रामा भगवतीको सवारी कापडी गाउँ हुन्छ । त्यसपछि कापडी गाउँबाट भगवती माताको फिर्ती सवारी हुन्छ ।’

यो जात्रामा पनि राँगा तथा बोकाको बलि हुने गरेको थापाले बताए । त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्षको दशैं, कार्तिक शुक्ल अष्टमी, चैते दशैं र असार शुक्ल अष्टमीमा मेला तथा जात्रा लाग्ने गरेको छ । तर यो वर्ष भने असारमा अधिकमास परेकाले साउन महिनामा पर्न गएको हो ।

त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने मेला तथा जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । यो जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी सहभागिता रहेको थापाले बताए । 
त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १२:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update