बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाभरीका खोप पाउनुपर्ने उमेरका सबै बालबालिकाहरुले खोप पाएको सुनिश्चित भएपछि मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिनासम्मका ३ सय ३५ र १६ महिनादेखि ५९ महिनासम्मका १ हजार ६५ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा सहसंयोजक पुरुषोत्तम नाथले बताए ।
राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुलाई बिसिजी, डिपीटी, हेबबि हिब, पिसीभी, पोलियो, रोटा, एफआइपीभी, पेन्टाभ्यालेन्ट, एमआर, जेइ लगायतका खोपहरु लगाउने गरिएको छ ।
गाउँपालिकाका ७ ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
डिलाशैनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रममा ७ ओटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणाको प्रमाण पत्र प्रदान गरिएको थियो ।
पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रममा बोल्दै पालिका खोप समन्वय समितिका संयोजक एवं गाउँपालिका सन्तोषप्रकाश जोशीले गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पालिकाले पहल गरिरहेको बताए । खोप कार्यक्रम सरकारको प्राथमिकता प्राप्त कार्यक्रम रहेको बताउँदै उनले पूर्ण खोप सुनिश्चित पालिका घोषणामा खटिने सबैलाई धन्यवाद ज्ञापन गरे ।





