Sagun Khabar
धार्मिक अभियानमार्फत जातीय विभेद हटाउन सक्रिय पन्त   

बैतडी –बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै आएका छन् । पन्तले वैदिक विधिबाट दलित बस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत एक सयभन्दा बढी धार्मिक कर्मकाण्ड गरेर सांस्कृतिक कुरीति हटाउने अभियान थालेका हुन् । 

दलित बस्तीमा धार्मिक कुरीति हटाउन पन्तले अहिलेसम्म ३७  वटा सप्ताह, २३ वटा शिवपुराण, २८७ वटा लघुरुद्राभिषेक, १८१ महारुद्राभिषेक, न्वारन, व्रतबन्ध, विवाह, ६७५ सत्यनारायण पूजन, ५८३ ग्रह शान्ति, २९  शतचण्डी, ५५ अखण्ड रामायण लगायतका ४ सय एघार भन्दा बढी कर्मकाण्ड गरिसकेको बताए ।

विश्वनाथ ज्योतिर्लिङ्गका धार्मिक प्रवक्ता समेत रहेका पन्तले यसअघि सांस्कृतिक कुरीति हटाउन आचार्य कृष्ण दमाईँ सहित १३  सय ७५  जना सिल्पि समुदायका व्यक्तिलाई जनैधारण गराइसकेको र २९९ दलित महिला लाई दुधागो दोरक धारण गराइसकेको  बताए ।

आचार्य कृष्ण दमाईँले पशुपति कोटिहोमको व्यासबाट प्रवचनसमेत दिएका थिए । धर्मग्रन्थमा दलित, महिला कसैलाई पनि जातीय र लैङ्गिक हिसाबले विभेद नगरिएको बताउँदै ज्योतिषी पन्तले समाजमा कायम रहेको छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवा तयार हुनुपर्ने बताउदै आएका छन् । 

कानुनले समेत अपराध मानेका कुरा धार्मिक अगुवाले हटाउनुपर्नेमा उनको जोड छ । दलितको घरमा धार्मिक कार्य गर्दै भोजन ग्रहणसमेत गर्दै आएको उनले बताए । जातीय विभेद हटाउन आफूले यो अभियान सञ्चालन गरेको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update