कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका दुई वटा पालिकाका एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन्। क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कञ्चनपुर र कैलालीमा गरी तीन पालिकामा फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको थियो ।
कैलालीको अत्तरीया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् । सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख तुलसीराम खर्वुजाले कैलालीको धनगढी उप महानगरपालिकामा रहेको फोहोमैला व्यवस्थापन केन्द्र शीघ्र सञ्चालनमा आउने दाबी गरे ।
तोकिएको समयमै निर्माण सम्पन्न भए पनि धनगढी उप महानगरपालिका–७ पटेलामा बनिरहेको फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण निर्माण पक्षले समयमै सम्पन्न गरेपनि सञ्चालनमा आउन सकेको छैन् ।
थप गरेर रु एक अर्ब नौ करोड लगात अनुमान रहेको उक्त व्यवस्थापन केन्द्रको भेरियसन अर्डर प्रक्रियामा रहेकाले सञ्चालनमा ढिलाइ हुन गएको हो ।
धनगढीको फोहरमैला व्यवस्थापन केन्द्रमा ३० वर्षसम्म धनगढीको फोहर व्यवस्थापन गर्न सकिने छ । चीनको सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले ठेक्का पाएर निर्माणको काम तोकिएकै अवधीमा सकेको हो । तर ‘भिओ’का कारण निर्माण पक्षले अहिले काम गर्न पाएको छैन ।
सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका अनुसार कैलालीको अत्तरियामा करिब १० महिना र शुक्लाफाँटा नगरपालिकामा गत भदौ महिनादेखि फोहरमैलला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् ।
सुदूरपश्चिममा एडिबीले चार वटा पालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि छनौट गरेको भएपनि कञ्चनपुरको भीमदत्त नगरपालिकाले त्यसका लागि जग्गा उपलब्ध गराउन सकेन। धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा फोहरमैला व्यवस्थापन केन्द्र बनेका छन् ।





