बैतडी–अवैध रुपमा भन्सार छलेर ल्याएको अखाद्य सामग्री बैतडीमा नष्ट गरिएको छ । गएको चैत २९ गते सशस्त्र प्रहरीले पञ्चेश्वरको विनायक घाटबाट नेपाल भित्र्याउँदै गरेको २१ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामग्री बरामद गरेको थियो ।
उक्त अवैध सामग्रीमध्ये २ लाख ११ हजार ७५० रुपैयाँ बराबरको अखाद्य सामग्री शुक्रबार नष्ट गरिएको महाकाली भन्सार कार्यालय झुलाघाटका लेखापाल देवराज रानाले बताए । बरामद गरिएका सामग्री मध्ये आयातमा प्रतिबन्ध गरिएका,लेबल नभएका, उत्पादन मिति र उपभोग्य मिति नभएका विभिन्न सामग्री जलाएर नष्ट गरिएको उनले बताए ।
पेप्सी, माउन्टेन ड्यु, जेरी कलर,सल्फास, नवान, बगडौन, नम्कीन, कुरकुरे, अचार लगायतका सामग्री सरोकारवालाहरुको रहोबरमा शुक्रबार नष्ट गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीले जनाएको छ ।
बैतडीको तल्लोसोराड क्षेत्रमा खुला सीमा नाकाबाट अवैध सामग्री भित्रिने भएकाले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए ।
तल्लोसोराड क्षेत्रमा विभिन्न घाटहरुमा डुंगाका माध्यमबाट महाकाली नदी वारपार गर्ने गरिएको छ ।





