Sagun Khabar
महाकाली सिँचाइ आयोजनाको मूल नहर ६० प्रतिशत निर्माण, नियमित पानी ल्याउने विषय अन्योलमा

कञ्चनपुर–कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत ब्रह्मदेवबाट शुक्लाफाँटाको टोटी फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भइसकेको छ ।

थप खण्डमा झन्डै ६० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका सूचना अधिकारी इन्जिनियर यादव बरालले जानकारी दिए । तर महाकाली नदीबाट भारतले परीक्षणका लागि मात्र पानी छोडेको र नियमित प्रवाह नभएका कारण सिँचाइ सुविधा पुग्न सकेको छैन ।

आयोजनाले यस विषयमा तीन पटक जलस्रोत तथा सिँचाइ विभागमार्फत भारतसँग समन्वय गर्न पत्राचार गरे पनि नेपाल–भारत सिँचाइ मन्त्रीस्तरमा विषय पुग्न नसकेको बरालले बताए  । कूटनीतिक पहल हुन नसक्दा ९ अर्ब रुपैयाँभन्दा धेरै लगानीमा बनेको मूल नहर काठ र घाँसले पुरिन थालेको उनले बताए । 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले नयाँ सरकारले यो विषय चाँडै टुङ्गोमा पु¥याउने आशा व्यक्त गर्दै छिमेकी देशसँग कूटनीतिक पहलमा थप ढिलाइ गर्न नहुने बताए ।

आयोजना पूर्ण भएमा कञ्चनपुर र कैलालीको मालाखेतीसम्म ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने र किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update