Sagun Khabar
लेखकको गृह जिल्ला कञ्चनपुरमा कांग्रेस–एमालेको विरोध प्रदर्शन

कञ्चनपुर –पूर्व गृहमन्त्री रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । लेखकलाई सरकारले शनिबार बिहान पक्राउ गरेको विरोधमा पार्टीले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।

सरकारले प्रतिशोधपूर्ण तरीकाले पूर्व मन्त्री लेखकलाई पक्राउ गरेको भन्दै कांग्रेसले विरोध प्रदर्शन गरेको हो । 

यसैबीच कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कांग्रेसले गरेको विरोध प्रदर्शनमा नेकपा एमाले पनि मिसिएको छ । सरकारको कदमविरुद्ध दुवै दलले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । 

पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो । उनलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ ।

प्रहरीले लेखकपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पक्राउ गरेको थियो । उनलाई भने महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

पूर्वगृहमन्त्री लेखकको पक्राउ बारे कांग्रेसले अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । तर, नेकपा एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा सरकारविरूद्ध संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update