Sagun Khabar
निङ्गलाशैनी भगवती मन्दिरको जात्रा शुरु 
फाइल फोटो

बैतडी–बैतडीका प्रसिद्ध शक्तिपीठ मध्येको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको हो । 
चैते नवरात्रको प्रतिप्रदादेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा आजदेखि जात्रा शुरु भएको र भोलि चैत्राष्टमीका दिन बलिसहित जात्रा समापन हुने मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरमा सप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र चैत्राष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ । हरेक बर्ष चैते नवरात्रमा पनि यो मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ । 
निङ्गलाशैनी भगवतीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । 

निङ्गलाशैनी भगवती मन्दिरमा बर्षको चार पटक जात्रा लाग्ने गर्दछ । असोजको महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने गर्दछ । 

मंसिर शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमा र भाद्र शुक्ल चतुर्दशी अर्थात अनन्त चतुर्दशीका दिन यो मन्दिरमा जात्रा लाग्ने गर्दछ । यो बेलाको जात्रामा भने बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update