बैतडी–चैते नवरात्रको चौथो दिन आज बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा गर्ने क्रम जारी रहेको छ । चैत शुक्ल चतुर्थीका दिन आज विभिन्न शक्तिपीठ र मन्दिरहरुमा जात्राका साथै पूजाआजा हुने गरेको छ ।
जिल्लाका प्रसिद्ध धार्मिकस्थल मध्ये आज चैत शुक्ल चतुर्थीका दिन अनिरुद्र मन्दिरमा जात्रा हुने गर्दछ । अनिरुद्र देवताको मूल मन्दिर सुर्नया गाउँपालिका–५ स्थित मूलखटालीमा रहेको छ ।
वेद र विद्याका देवताको रुपमा पूजाआजा हुने अनिरुद्र मन्दिरमा हरेक बर्ष चैते नवरात्रको चतुर्थी तिथीमा जात्रा हुने गरेको अनिरुद्र मन्दिरका पूजारी विनोदप्रसाद अवस्थीले बताए । अनिरुद्र देवताको पूजाआजा गरेमा विद्या प्राप्त हुने जनविश्वास रही आएको उनले बताए । अनिरुद्र देवतालाई वेद र विद्याका धनी देवताको रुपमा पूजाआजा गर्ने गरिएको छ ।
अवस्थीहरुले कुल देवताको रुपमा अनिरुद्र देवताको पूजाआजा गर्दै आएका छन् । वेदबाटै अनिरुद्र देवताको उत्पत्ति भएको विश्वास गरिन्छ । अनिरुद्र देवताको पूजाआजा गरेमा सुख,शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुने अनिरुद्र मन्दिरका अर्का पूजारी गणेशदत्त अवस्थीले बताए ।
अनिरुद्र मन्दिरमा असोज शुक्ल चतुर्थी र महाष्मटी, चैत शुक्ल चतुर्थी र अष्टमी, माघ शुक्ल चतुर्थी र भदौ शुक्ल चतुर्थीका दिन जात्रा तथा पूजाआजा हुने अनिरुद्र मन्दिरका पूजारी अवस्थीले बताए ।
बैतडीको सुर्नया ६ स्थित मूलखटालीमा अनिरुद्र देवताको मुख्य मन्दिर रहेको छ । सो मन्दिरमा हरेक बर्ष टाढाटाढाका दर्शनार्थीहरु पुग्ने गर्दछन् । यसका साथै पाटन नगरपालिका, सिगास गाउँपालिका, बझाङ, डडेल्धुरा लगायतका क्षेत्रमा पनि अनिरुद्र देवताको पूजाआजा हुने गरेको पूजारी अवस्थीले बताए । आयत्री गोत्र भएका अवस्थीहरुको बसोबास भएको ठाउँमा अनिरुद्र देवताको पूजाआजा हुने गरेको बताइएको छ ।




