Sagun Khabar
कैलाली र कञ्चनपुरमा किसानले पालेका बाख्रामा पीपीआर पुष्टि 

कञ्चनपुर –सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बाख्रामा लाग्ने अत्यन्त सङ्क्रामक ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि भएको छ ।

धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणअनुसार कैलालीको धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरका पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाबाट सङ्कलित नमूनामा पिपीआर ‘पोजेटिभ’ देखिएको हो । 

प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार व्यावसायिक फार्म र स्थानीय किसानले पालेका बाख्रामा समेत सङ्क्रमण फेला परेको छ । प्रारम्भिक अनुसन्धानले भारतबाट क्वारेन्टाइन प्रक्रिया पूरा नगरी अवैध रूपमा भित्र्याइएका बोकाबाट रोग फैलिएको देखाएको छ । ती पशु सीमानाकामा हुने स्वास्थ्य परीक्षण छलेर ल्याइएकाले स्थानीय बथानमा भाइरस सरेको हुनसक्ने जनाइएको छ । 

पिपीआर विषाणुजन्य र अत्यन्त छिटो फैलिने रोग भएकाले छोटो समयमै ठूलो क्षति पु¥याउन सक्छ । उच्च मृत्युदरको जोखिम रहने भएकाले पशु प्राविधिकहरूले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । 

पशु सेवा कार्यालय र प्रयोगशालाले नयाँ पशु खरिद गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गराउन र कम्तीमा २१ दिनसम्म छुट्टै (क्वारेन्टाइन) राखेर मात्र पुरानो बथानमा मिसाउन सुझाव दिएका छन् । 

खोरमा रहेका बाख्रामा कडा ज्वरो, मुखमा घाउ, आँखा–नाकबाट पानी बग्ने वा झाडापखाला जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको पशु प्राविधिक वा भेटेरिनरी अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update