Sagun Khabar
भाइरल ज्वरोबाट प्रभावित बैतडीको महरागाउँ : २ सय बढी बिरामी, दुई बालकको मृत्यु 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा भाइरल अर्थात मौसमी ज्वरोको प्रकोपका कारण दुई बालकको ज्यान गएको पाइएको छ । 

एकसाताको अन्तरलामा एकै घरका दुई दाजुभाइको ज्यान गएपछि प्रभावित क्षेत्रमा खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले ज्वरोकै कारण दुई बालकको ज्यान गएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । 

प्रतिवेदन अनुसार महरागाउँमा १३ बर्षीय विनोद महरा र १० बर्षीय विकास महराको ज्वरोका कारण ज्यान गएको हो । विनोदको फागुन ११ गते र विकासको फागुन १६ गते मृत्यु भएको थियो । एकैघरमा दुवै दाजुभाइको मृत्यु भएपछि अहिले महरागाउँ शोकमा डुबेको छ । एकै घरका दुई बालकको अप्रत्याशित मृत्यु भएपछि अहिले स्थानीय त्रास र मानसिक चिन्ता सिजर्ना भएको बताइएको छ । 

ज्वरो प्रभावित समुदायका नागरिकमा उच्च ज्वरो, रुघाखोकी, टाउको दुखाइ, वान्ता, कमजोरी तथा केहीमा स्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । प्रभावित क्षेत्र महरागाउँका ३२ घरपरिवारसहित आसपासका गोरागाउँ र साङडी टोलका गरी करिब १०० घरपरिवारका २ सय जना नागरिक बिरामी परेका पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए । 

हालसम्मको प्रारम्भिक अनुमान अनुसार मौसमी भाइरल ज्वरोका कारण दुवै बालकको ज्यान गएको हुन सक्ने बताइए पनि प्रयोगशाला परीक्षण र थप अनुसन्धानपछि मात्रै पुष्टि हुने प्रतिवदेनमा उल्लेख गरिएको छ । 

प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोली पुगेपछि गरिएको परीक्षण र अनुसन्धानमा क्रममा केही घरपरिवारले समयमै बिरामीहरुलाई स्वास्थ्य संस्थामा नलगेको पाइएको छ । 

दूषित खानेपानीको प्रयोग, व्यक्तिगत तथा वातावरणीय सरसफाइको कमी, बिषादीयुक्त फलफूल र अन्य खाद्यवस्तुको प्रयोगले भाइरल ज्वरोको प्रकोप फैलिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 
घटनापछि पुर्चौंडी नगरपालिकाले द्रुत प्रतिकार्य टोली परिचालन गरेको छ । स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवर नेतृत्वको टोलीमा जनस्वास्थ्य अधिकृत, स्वास्थ्यचौकीका कर्मचारी तथा ल्याब प्राविधिक सहभागी छन् । साथै स्वास्थ्य कार्यालय बैतडी र जिल्ला अस्पताल बैतडीको समन्वयमा चिकित्सकसहितको टोली पनि खटाइएको छ ।

प्रभावित क्षेत्रमा ७ जना बिरामीको स्वास्थ्य जाँच तथा प्राथमिक उपचार गरिएको छ  सक्रिय लक्षण देखिएका १० जनाबाट थ्रोट स्वाब नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको छ भने प्रभावित टोलको पानी परीक्षणका लागि तीन वटा नमुना संकलन गरिएको छ । आवश्यक औषधि तथा प्राथमिक उपचार सामग्री व्यवस्थापन गर्नुका साथै सिकिस्त बिरामीको २४सै घण्टा निगरानी भइरहेको जनाइएको छ ।

वडा समितिको सहजीकरणमा बजारमा आयातित तथा अखाद्य वस्तुको बिक्री वितरणमा निगरानी कडाइ गरिएको छ । अनावश्यक जमघट, भेला तथा आवतजावत नियन्त्रण गर्नुका साथै पानी उमालेर पिउने, शुद्धीकरणका उपाय अपनाउने, साबुनपानीले हात धुने र मास्क प्रयोग गर्नेबारे समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सिफारिश गरिएको छ । 

नगरपालिकाले अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म स्वास्थ्यकर्मी र आवश्यक औषधिसहित सेवा निरन्तरता दिने, गम्भीर बिरामीलाई तत्काल रेफरल गर्ने तथा आवश्यक परे थप रगत तथा अन्य नमुना परीक्षणको व्यवस्था गर्ने जनाएको छ । साथै खानेपानी र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै अन्य क्षेत्रमा संक्रमण फैलिन नदिन निरन्तर अनुगमन गर्ने निष्कर्ष निकालिएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update