Sagun Khabar
दार्चुलाका योगेश विश्वकर्मा ‘नेसनल स्टुडेन्ट ट्यालेन्ट स्टार कम्पिटिसन’को गायन विधामा प्रथम

र्दाचुला जिल्लाका योगेश विश्वकर्मा ‘नेसनल स्टुडेन्ट ट्यालेन्ट स्टार कम्पिटिसन’ अन्तर्गत गायन विधामा प्रथम स्थान हासिल गर्न सफल भएका छन्।

जनसंघर्ष आवाज मिडिया प्रा.लि. द्वारा काठमाडौंमा आयोजित उक्त राष्ट्रियस्तरको प्रतियोगितामा देशभरका निजी तथा सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मालिकार्जुन गाउँपालिका–५ स्थीत श्री कृष्ण माध्यमिक विद्यालय डाडाकोटमा कक्षा १० मा अध्ययनरत योगेशले उत्कृष्ट प्रस्तुति दिँदै गायन विधामा प्रथम स्थान हासिल गरेका हुन्। प्रतियोगितामा गायन, नृत्य, चित्रकला, वक्तृत्वकला र हस्तलेखन गरी पाँच विधा समावेश गरिएको थियो।

गायन विधामा उत्कृष्टता प्रदर्शन गर्दै योगेशले नगद रु.२ लाख पुरस्कारसमेत प्राप्त गरेका छन्। सोही विद्यालयमा अध्ययनरत उनकी बहिनी आयुषा विश्वकर्मा पनि प्रतियोगिताको उत्कृष्ट ४० भित्र पर्न सफल भएको जानकारी योगेशका पिता तथा विद्यालयका शिक्षक दिवान राम लुहारले दिएका छन्।

प्रतियोगिता यसै वर्षदेखि सञ्चालनमा आएको हो। पहिलो संस्करणमै दार्चुलाबाट प्रथम स्थान हासिल हुनु समग्र जिल्लाकै लागि गौरवको विषय भएको विद्यालयका प्रधानाध्यापक जगदीश अवस्थीले प्रतिक्रिया दिएका छन्।

यस उपलब्धिले दार्चुला जिल्लाको शैक्षिक तथा सांगीतिक प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पु¥याएको विश्वास गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update