बैतडी–बैतडीको सुर्नया गाउँपालिका–२ स्थित पाताल भुवनेश्वर धाममा गएको १८ महिनादेखि एकजना बाल तपस्वीले तपस्या गरिरहेकी छन् ।
भारतको सिक्किमबाट आएकी तपस्वीले धाममा तपस्या गरिरहेकी स्थानीय मोहनबहादुर बिष्टले बताए । पाताल भुवनेश्वर धामको ठूलो महिमा रहेकाले तपस्वीले तपस्या गरिरहेकी बिष्टले बताए ।
पाताल भुवनेश्वर धामको बारेमा तपस्वीलाई जानकारी भएपछि उनी तपस्याका लागि यो धाममा आइपुगेकी उनका सहयोगी प्रज्वल राइले बताए । पाताल भुवनेश्वर धाम पुराणमा वर्णित भएकाले तपस्वीले तपस्या गरिरहेको उनले बताए । बाल तपस्वीले २७ महिनासम्म धाममा तपस्या गर्ने बताइएको छ ।
पाताल भुवनेश्वर धाम पौराणिक धाम भएकाले आफू तपस्या गर्न नेपाल आएको गुरुमाले बताउँदै आएकी छन् । २७ महिनाको तपस्यापछि धामका बिषयमा केही तथ्यहरु आफूले भन्ने उनले बताउँदै आएकी छन् ।
फलहार गरेर नित्य तपस्यामा बसेकी तपस्वीले गत बर्षको महाशिवरात्रि पर्वमा खुला प्रवचन दिएकी थिइन् । पाताल भुवनेश्वर धाम परिसरमा रहेको प्राकृतिक ताललाई उनले सती दहको रुपमा लिएको राइले बताए ।
पाताल भुवनेश्वर धाममा हरेक बर्ष महाशिवरात्रिको दिन ठूलो मेला लाग्ने गर्दछ । पाताल भुवनेश्वर धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको सुर्नया गाउँपालिका–२ का वडा अध्यक्ष गणेशबहादुर बिष्टले बताए । साउनको महिनमा समेत यो धामको दर्शन गर्नेहरुको घुइँचो लाग्ने गरेको उनले बताए ।
पाताल भुवनेश्वर धाममा पछिल्लो समयमा नयाँ मन्दिर निर्माण गरिएको छ भने विवाह, ब्रतबन्धजस्ता कार्यका लागि मण्डप समेत निर्माण गरिएको छ । पाताल भुवनेश्वर धाममा पुग्नका लागि सडकबाट पिसीसी बाटो निर्माण गरिएको छ ।




