Sagun Khabar
अस्थाको केन्द्र पाताल भुवनेश्वर धाम, महाशिवरात्रि मेलाको तयारी 

बैतडी – धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको बैतडीको सुर्नया गाउँपालिका– २ स्थित पाताल भुवनेश्वर धाममा महाशिवरात्रि मेलाको तयारी गरिएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पातालभुवनेश्वर धाममा महाशिवरात्रि मेलाको तयारी भइरहेको सुर्नया गाउँपालिका–२ का वडा अध्यक्ष गणेशबहादुर बिष्टले बताए । उनले भने ‘पातालभुवनेश्वर धामको ऐतिहासिक र धार्मिक दुवै महत्व छ । पहिलादेखि नै यो धाम आस्थाको केन्द्र रही आएको छ । हरेक बर्ष महाशिवरात्रिमा यो धाममा ठूलो मेला लाग्ने गर्दछ ।’

चारैतिर वनजंगलले घेरेको बीचमा प्राकृतिक ताल रहेको पाताल भुवनेश्वरमा एउटा मुख्य गुफा र अन्य चारओटा गुफा रहेका स्थानीय जानकारहरुले बताएका छन् । सडकबाट झण्डै आधाकिलोमिटरको दुरीमा रहेको पाताल भुवनेश्वर धाममा पुग्नका लागि पिसीसी बाटो निर्माण गरिएको छ । 

पछिल्लो समयमा पाताल भुवनेश्वर धाममा मन्दिर, विवाह मण्डप लगायतका भौतिक संरचना निर्माण गरिएका वडा अध्यक्ष बिष्टले बताए । पाताल भुवनेश्वरको धामको दर्शनका लागि हरेक बर्ष दर्शनार्थीको संख्या बढ्दै गएको उनले बताए । 

२०७२ सालमा जर्मन गुफा बिशेषज्ञहरुको टोलीले गरेको अध्ययन अनुसार पाताल भुवनेश्वरगुफा दक्षिण एसीयाकै लामो गुफा हुन सक्ने अनुमान गरेको थियो । ‘गुफा बिशेषज्ञहरुको टोली ३५ सय मिटर सम्म पुगेको थियो । त्यो भन्दा अगाडि उनीहरुले पनि जान सकेनन् ।’पत्रकार लक्ष्मीदत्त पाण्डेयले भने, ‘गुफाको बारेमा मात्रै प्रचारप्रसार गर्न सकियो भने धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’

पातालभुवनेश्वरधाम अग्लो डाँडोमा अवस्थित भएपनि धाममा कहिले नसुक्ने प्राकृतिक ताल रहेको छ । पछिल्लो समयमा संरक्षणको अभावमा ताल सुक्ने खतरा बढ्दै गएको स्थानीयबासी बताउँछन् ।

पाताल भुवनेश्वर धामको बारेमा स्कन्द पुराणको हिमवत खण्डमा समेत उल्लेख गरिएको पाइन्छ । भगवान विष्णुले राजा बलिलाई पाताल पठाएको र सोही बेलादेखि पाताल भुवनेश्वर नाम रहेको बताईएको छ । यस्तै अर्को प्रसंगमा भगवान शिवले सतीको पार्थिव शरीरलाई बोकेर पृथ्वी घुम्ने क्रममा सतीदेवीको पैताला खसेर पाताल भुवनेश्वर शिवशक्तिको रुपमा स्थापित भएको किम्वदन्ती छ । 

पाताल भुवनेश्वर धाममा चारओटा गुफा रहेका छन् । चारैतिर जंगल र बीचमा शिवमन्दिर सहितको तालले शोभा बढाएको छ । 

पाताल भुवनेश्वरको बारेमा स्कन्द पूराणमा समेत उल्लेख गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । उनले भने ‘पाताल भुवनेश्वर धामको बारेमा पूराणहरुमा समेत वर्णन गरिएको छ । यसको ठूलो महिमा रही आएको छ ।’

पाताल भुवनेश्वर धाममा एकजना भारतको सिक्कमी तपस्वीले तपस्या गरिरहेकी छन् । २७ महिनासम्म धाममै बसेर तपस्या गर्ने उनले बताएको स्थानीय मोहनबहादुर बिष्टले बताए । 

महाशिवरात्रिका दिन लाग्ने मेलामा सुदूरपश्चिमका विभिन्न स्थानबाट दर्शनार्थीहरु पुग्ने गरेको बिष्टले बताए । यसका साथै उक्त धाममा साउनको महिनासमेत दर्शनार्थी पुग्ने गरेका बिष्टले बताए । 
पछिल्लो समयमा पाताल भुवनेश्वर धाम परिसरको वन क्षेत्रलाई धार्मिक वनको रुपमा स्थापना गरिएको छ । 

पाताल भुवनेश्वर धाममा विवाह, ब्रतबन्धजस्ता शुभकार्य गर्नेहरुको संख्या समेत हरेक बर्ष बढ्दै गएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update