कञ्चनपुर –कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । जिल्लाको लालझाँडी गाउँपालिका–६, ढक्का चानदेवमा जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी ६ बर्षीया रोजिना साउदको उपचारका क्रममा मृत्यु भएको हो ।
गएराति साढे दुई बजेतिर स्थानीय किसनसिंह साउँदको घरमा जंगली हात्ती प्रवेश गरी आक्रमण गरेको थियो । ज्यान जोगाउनका लागि भाग्ने क्रममा साउँदकी ५५ बर्षीया आमा पार्वती साउँद र ६ बर्षीया छोरी रोजिनामाथि हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी रोजिनाको उपचारकै क्रममा धनगढी नवजीवन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।
हात्तीको आक्रमणबाट घाइते भएकी पार्वती उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
निकुञ्ज क्षेत्रबाट मानव बस्तीमा जङ्गली हात्ती प्रवेश गर्ने क्रम बढेकाले स्थानीयवासी त्रसित बनेका छन् । जंगली हात्तीको आक्रमणबाट कतिपयले अकालमा ज्यान गुमाएका छन् भने धेरै मानिस घाइते समेत हुने गरेका छन् ।




