बझाङ –बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा बिहीबार जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाएका बझाङको बित्थडचीर गाउँपालिका–७ का आठ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ ।
उक्त दुर्घटनामा १३ जनाको मृत्यु हुनका साथै ३७ जना घाइते भएका थिए ।
मृतकमध्ये बझाङको बित्थडचीर गाउँपालिका –७ लगुणासाका चार जना सहोदर दाजुभाइ र चार जना बाबु–छोरासहित एक आफन्तको निधन भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा सहोदर दाजुभाइ नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी, बाबु–छोरा केशवराज जोशी र अशोकराज जोशी, सहोदर दाजुभाइ किसनदत्त जोशी र विसनदत्त जोशी तथा आफन्त दिपकराज जोशी रहेका छन् ।
एकै गाउँका आठ जनाको कालङ्गा नदी आर्यघाटमा एकसाथ अन्त्येष्टि गरिएको वित्थडचीर गाउँपालिकाका प्रवक्ता हरिचन्द्र जोशीले बताए । दुर्घटनापछि बित्थडचीर शोकमा डुबेको उनले बताए । अकल्पनीय घटनाले स्थानीयबासीहरु शोकमग्न भएका छन् ।




