Sagun Khabar
बैतडी बस दुर्घटना : विवाहको खुसी साट्न नपाउँदै बैतडी र बझाङ शोकमा डुब्यो 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका–७ भवनेमा बिहीबार दिउँसो विवाहको उल्लास सकेर जन्ती बझाङको बित्थडचीर फर्किरहेको थियो । बेहुला पक्षका जन्ती विवाहको रमाइलोसहित बसको यात्रामा रहेका थिए । 

बेहुली लिएर घर नपुग्दै जन्ती बोकेको बस पुर्चौंडी–७ बडगाउँमा दुर्घटना भएपछि बैतडीको पुर्चौंडी र बझाङको बित्थडचीर शोकमा डुबेको छ । 

जन्ती बोकेको पवनदूत यातायातको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको बस पुर्चौडी नगरपालिका–७ स्थित बडगाउँको घुम्तीबाट करिब १ सय ५० मिटर तल खस्दा १३ जनाले ज्यान गुमाएका छन् । यो घटनाले विवाहको खुसी साट्न नपाउँदै दुवै गाउँलाई शोकमा डुबाएको छ भने सिंगो सुदूरपश्चिम स्तब्ध बनेको छ । 

दुर्घटनामा एकै घरपरिवारका सदस्य र उनीहरुका इष्टमित्रहरुको ज्यान गएको छ । साँघुरो मोडमा गाडी ब्याक हुँदा दुर्घटना भएको उक्त दुर्घटनामा बाँच्न सफल भएका पुर्चौंडीका स्थानीय अमरराज जोशीले बताए । दुर्घटनामा पुर्चौंडीका दुई जना र बझाङका ११ जनाको ज्यान गएको छ । 

दुर्घटनामा परेर मृत्यु भएकाहरु अधिकांश बेहुलाका नजिजका आफन्त रहेका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा ४२ वर्षीय नरेन्द्रराज जोशी र ४१ वर्षीय विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन् । उनीहरू दुवै जना बेहुलाका काका हुन् । एउटै घरका दुई दाजुभाइको मृत्यु भएपछि जोशी परिवारमा ठुलो बज्रपात परेको छ । नरेन्द्रराज बित्थडचिर गाउँपालिकाका प्राविधिक सहायक थिए भने विष्णुदत्त महादेव माध्यमिक विद्यालयका शिक्षक थिए ।

दुर्घटनामा मृत्यु भएका वसन्तराज जोशी बेहुलाका दाजु हुन् । उनी दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बलाँचको वडा सचिवको जिम्मेवारीसमेत सम्हालिरहेका थिए ।

यस्तै, बझाङ केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र उनका छोरा केशवराज भट्टको सोही दुर्घटनामा निधन भएको छ । बाबु–छोरा नै जन्ती गएका उनीहरूको शव एकैसाथ घर फर्किँदा गाउँ शोकमा डुबेको छ । 

दुर्घटनामा बेहुलीका आफ्नै १४ वर्षीय भाइ सुशील जोशीको पनि मृत्यु भएको छ । दीदीलाई घरसम्म पुर्याउन माइती पक्षबाट गएका जोशीको कलिलै उमेरमा ज्यान गएपछि भवने गाउँ शोकमा डुबेको छ । उनीसँगै बसमा रहेका बेहुलीका काका अमरराज जोशीले हाम फालेर ज्यान जोगाएका छन् । आफ्नै आँखा अगाडि भएको उक्त दुर्घटनाले उनलाई समेत विक्षिप्त बनाएको छ । 

बेहुलीकै आफन्त पर्ने ४० बर्षीया पुष्पा अवस्थी दुर्घटना भएको मोडभन्दा केहीमाथि रहेको विद्यालय नजिक बसबाट उत्रने योजनामा थिइन् । उनको घर दुर्घटनास्थल नजिकै रहेको छ । तर उनले दुर्घटनामा ज्यान गुमाइन् । 

दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिकाका दुई जना, बझाङको बित्थडचीर गाउँपालिका –७ का ८ जना, बझाङको केदारस्युँ गाउँपालिकाका दुई जना र जयपृथ्वी नगरपालिकाका एक जना गरेर १३ जनाको ज्यान गएको छ । 

दुर्घटनामा ३४ जना घाइते भएका छन् । बस चालकलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बेहुला–बेहुली अर्को जिपमा रहेका कारण सकुशल रहेका छन् । तर दुर्घटनापछि उनीहरु निकै मानसिक पीडामा रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update