बैतडी–बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा बिहीबार भएको बस दुर्घटनामा एकजनाले ढोकाबाट हाम फालेर बाँच्न सफल भएको बताएका छन् । पुर्चौंडी नगरपालिका –७ भवनेका अमरराज जोशीले ढोकाबाट हाम फालेर उतिसको रुखमा अड्किएपछि ज्यान जोगिएको बताएका छन् ।
जन्तीले खचाखच भरिएको बस उकालो मोडमा अगाडि नबढ्दा ब्याक आएको थियो । साँघुरो मोड भएका कारण बस ब्याक आएपछि दुर्घटना भएको जोशीले बताए ।
जन्ती बोकेर बस बझाङतर्फ गइरहेको थियो । एक्कासी बडगाउँको मोडमा बस ब्याक भएपछि आफूले ढोकाबाट हाम फालेको जोशीले बताए । उनले भने, ‘म सधैं त्यहीँ बाटो आवतजावत गर्ने मान्छे । बस ब्याक हुने बित्तिकै कसरी हाम फाले थाहै भएन् । हाम फालेपछि उतिसको रुखमा कसरी अँगालो हाल्न पुगेछु । त्यही रुखमा अड्किएपछि ज्यान जोगियो ।’
उतिसको रुखमा अड्किएपछि हेर्दा बस तल खसीसकेको जोशीले बताए । त्यसपछि आफूले नै घटनाको बिषयमा प्रहरी, स्थानीयहरुलाई खबर गरेको जोशीले बताए ।
बसमा बेहुला र बेहुली दुवैपट्टीका आफन्तहरु खचाखच भरिएका थिए । बेहुलीको घरमा गएका बाटोमा घर पर्ने आफन्तहरु समेत उक्त बसमा चढेका उनले बताए ।
आफू देवीदेवताप्रति आस्था राख्ने व्यक्ति भएको बताउँदै जोशीले आफूले पुनर्जीवन पाएको अनुभूति भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकममा लेखेका छन् ‘म सधैँ देवी देवताप्रति विश्वास गर्ने मान्छे हुँ । आज त्यो विश्वासले नै मलाई फेरि एकचोटि जीवन दिएको महसुस भइरहेको छ । यो घटनाले रीस,घमण्ड, द्वेष केही काम लाग्दैन् । माया, सदभाव र विश्वासमात्रै साथमा जाने रहेछ ।’
समाजमा केही राम्रो काम गर्नका लागि भगवानले जीवनदान दिएको जोशीको ठहर रहेको छ । आफूले बाचुञ्जेल सकारात्मक कर्म गर्ने उनले बताए ।
आफ्नै आँखा अगाडि आफन्त र इष्टमित्र गुमाउँदाको पीडा सही नसक्नु भएको जोशीले बताए । उक्त घटनामा बेहुलीका भाइको समेत निधन भएको छ ।
यस्तै उक्त मोड कटेपछि उत्रने तयारी गरेका पुर्चौंडी –७ की पुष्पा अवस्थीको पनि ज्यान गएको छ ।
पुर्चाैडी नगरपालिका–७ को भवनेबाट दुलही लिएर फर्किरहेको जन्ती बस बिहीबार साँझ सोही वडाको बडागाउँ मोडमा दुर्घटनामा परेको थियो । सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको सो बस दुर्घटनामा बैतडीका दुई र बझाङका ११ गरेर १३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ३४ जनामध्ये २५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते पाँच जनाको धनगढीमा उपचार भइरहेको छ । सामान्य घाइते भएका ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र देउलेकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुःख व्यक्त गर्दै बैतडीको पुर्चाैडी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।




