Sagun Khabar
बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते (मृतकको नामावली सहित)

बैतडी–बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । 

बिहीबार पुर्चौंडी नगरपालिका –७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ गइरहेको  सुपप्र ०२००१ ख १११९ नम्बरको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करीब १५० मिटर तल खसेको छ । 

दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका–७ का ४० बर्षीय केशवराज जोशी, सोही ठाउँका १३ बर्षीय अशोकराज जोशी, ३५ बर्षीय वसन्त जोशी, ४१ बर्षीय विष्णुदत्त जोशी, ४२ बर्षीय नरेशराज जोशी, बझाङको केदारस्यु गाउँपालिकाका ६० बर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका ७ का ४० बर्षीय वसन्तराज रतला र बैतडीको पुर्चौंडी नगरपालिका ७ की ४० बर्षीया पुष्पा अवस्थी रहेका छन् । 

घाइतेहरुको स्थानीय कोटिला स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई डडेल्धुरा पठाउने तयारी भएको प्रहरी निरीक्षक बडूले बताए । घाइते हुने २७ जना पुरुष र १८ जना महिला रहेका छन् । 

घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ । रातिको समयमा अध्याँरो भएका कारण उद्धारमा कठीनाइ भएको छ । 

घटनास्थलमा पुरघाट प्रहरीचौकीका साथै ढोल्यामोड प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ । 

यस्तै निर्वाचन सुरक्षाका लागि पाटनमा रहेको सशस्त्र प्रहरीको सुरक्षा बेशबाट सशस्त्र प्रहरी नायब उपरीक्षक शंकर धामी नेतृत्वको टोली पनि घटनास्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए । 

घटनाको थप विवरण आउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update