Sagun Khabar
बैतडीमा २४ सय ५३ किशोरीलाई एचपीभी खोप दिइने 

बैतडी–बैतडीमा २४ सय ५३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिइने भएको छ । यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म जिल्लाभरीका १० ओटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० बर्षका किशोरी र गत बर्षको अभियानमा छुटेका किशोरीहरुलाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

गत बर्ष अभियानको रुपमा किशोरीहरुलाई एचपीभी खोप दिइएको थियो भने यो बर्ष नियमित खोपमा समावेश गरिएको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

बैतडीमा यो बर्ष कक्षा ६ मा अध्ययनरत २३ सय ८६ जना, गत बर्षको अभियानमा छुटेका ६१ जना र विद्यालय बाहिर रहेका १० बर्ष उमेरका ६ जना किशोरी गरेर २४ सय ५३ जनालाई खोप दिइने उनले बताए । 

गत बर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका किशोरी गरेर १० हजार ३१० जनालाई एचपीभी खोप दिइएको थियो । 

बैतडीमा यो बर्ष किशोरीहरुलाई एचपीभी खोप दिनका लागि स्थानीय तहहरुले आफ्नो पालिकामा तयारी गरिरहेका छन् । प्रत्येक विद्यालयलाई खोप केन्द्र तोकेर खोप दिने तयारी रहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप पूर्ण सुरक्षित रहेकाले निर्धक्क रुपमा लगाउनुपर्ने जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा.पविन उपाध्यायले बताए । नेपालमा पाठेघरको मुखको क्यान्सरबाट बर्षेनी महिलाहरुले ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले त्यो रोग लाग्नै नदिन खोप लगाउनु अनिवार्य रहेको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update