Sagun Khabar
निर्वाचनका लागि बैतडीमा २६ सय सुरक्षाकर्मी खटाइने 

बैतडी –आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा २ हजार ६ सय सुरक्षाकर्मी खटाइने भएको छ । 

निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी खटाइने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिले निर्वाचनमा जिल्लाभरी २ हजार ५९० सुरक्षाकर्मी खटाउने निर्णय गरेको र आवश्यकता अनुुसार संख्यामा थपघट हुन सक्ने प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

निर्वाचनकै लागि बैतडीमा १ हजार ३७५ जना निर्वाचन प्रहरी छनौट भएका छन् । उनीहरुका लागि आधारभूत तालिम सञ्चालन रहेको छ । 

यस्तै निर्वाचन सुरक्षालाई ध्यानमा राखेर नेपाली सेनाले पाटन, खोड्पे र शिवनाथको सुल्लेखानमा सुरक्षा बेश स्थापना गरेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । यस्तै पाटनमा सशस्त्र प्रहरी बल नेपालको पनि सुरक्षा बेश स्थापना भएको छ । 

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लामा आवश्यक सबै तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

जिल्ला सुरक्षा समितिका अनुसार १ सय २९ मतदानस्थलमध्ये ३३ अति संवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । यस्तै २ सय १४ मतदान केन्द्र कायम गरिएका छन् ।

यस्तै निर्वाचनकै लागि दश प्रतिशत जगेडा सहित गरी १ हजार ४ सय ४२ कर्मचारी खटाइने भएको छ । कर्मचारी परिचालनका लागि जिल्लास्थित सरकारी कार्यालयबाट विवरण संकलन गरिसकेको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए । केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको खटनपटनको कार्य अगाडि बढाइने उनले बताए ।

बैतडीमा ११ जनाको उम्मेदवारी रहेको छ । जिल्लामा १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update