Sagun Khabar
बैतडीका चार ठाउँमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने 

बैतडी–बैतडीका चार ठाउँमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा यही माघ २४ गतेबाट शिविर सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका कोल्ड चेन सुपरभाइजर राजेन्द्र अवस्थीले जानकारी दिए । 

माघ २४ गते जिल्ला अस्पताल बैतडीमा शिविरको आयोजना हुनेछ भने माघ २५ गते केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौलीमा शिविर सञ्चालन हुने कोल्ड चेन सुपरभाइजर अवस्थीले बताए । 

यस्तै माघ २६ गते पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुनेछ भने माघ २७ गते कुवाकोट स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । 

पछिल्लो समयमा मानसिक स्वास्थ्य जनस्वास्थ्यको विकराल समस्याको रुपमा देखिएकाले मानसिक समस्या भएका बिरामीहरुलाई स्थानीयस्तरमै बिशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गर्न लागिएको भट्टले बताए । शिविरमा मानसिक रोग बिशेषज्ञले सेवा दिने बताइएको छ । 

शिविरमा अत्यधिक तनाव र चिन्ता, डर लाग्ने समस्याको उपचार, निद्राको समस्याको परामर्श र उपचार, लागू औषध, मदिरा तथा अन्य नशाजन्य पदार्थको लतसम्बन्धी समस्याको उपचार र परामर्श, बालबालिकाहरुमा देखिने मानसिक समस्याको उपचार र परामर्श, टाउको दुख्ने झमझमाउने समस्याको उपचार र परामर्श दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । 

निशुल्क रुपमा सञ्चालन हुने शिविरमा आएर सेवा लिनका लागि मानसिक समस्या भएका बिरामीहरुलाई स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । 

Shibir-1770186363.jpg
 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update