Sagun Khabar
बैतडीमा मतदानस्थल निरीक्षण गरिँदै 

बैतडी–आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर बैतडीमा मतदानस्थल निरीक्षण कार्य भइरहेको छ । 

जिल्ला सुरक्षा समितिकातर्फबाट मतदानस्थल निरीक्षणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । 

सुरक्षाको दृष्टिकोणले बैतडीका १२९ मतदानस्थलमध्ये ३३ ओटा अतिसंवेदनशीलको सूचीमा रहेका छन् । जिल्लाका २८ ओटा मतदानस्थल संवेदनशील र ६८ ओटा मतदानस्थल समान्यको सूचीमा रहेका छन् । 

अतिसंवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन ÷निरीक्षणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

मतदानस्थलको अवस्था, सुरक्षाको अवस्था, भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा लगायतसँग निरीक्षणका क्रममा छलफल गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । यस्तै मतदानस्थलमा निर्वाचनका बेला खटिने कर्मचारीहरुको आवासका लागि सुविधा भए÷नभएको,बिजुलीबत्ती, खानेपानी लगायतका आधारभूत कुराहरुको उपलब्धताको अवस्थाका बिषयमा समेत निरीक्षण गर्ने काम भइरहेको बताइएको छ । 

कतिपय मतदानस्थल तथा केन्द्रहरुमा सिसीटीभी क्यामेराको व्यवस्था आवश्यक भएकाले त्यसको व्यवस्थापनका लागि समेत पहल गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

अहिलेसम्म २० भन्दा बढी मतदानस्थलमा निरीक्षणको काम सकिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । 

१ सय २९ ओटा मतदानस्थल रहेको बैतडीमा २ सय १४ ओटा मतदान केन्द्र रहेका छन् । जिल्लामा १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update