Sagun Khabar
बैतडीका सबै तहमा कांग्रेसको निर्वाचन प्रचारप्रसार समिति गठन 

बैतडी–नेपाली कांग्रेसले बैतडीका सबै तहमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रचार–प्रसार समिति गठन गरिएको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए । 

उपसभाति बिरबहादुर बिष्टको संयोजकत्वमा २५ सय २५ सदस्यीय जिल्लास्तरीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । 

जिल्लाका १० ओटै स्थानीय तहमा पालिका सभापतिको संयोजकत्वमा ५ सय ५ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति शिवराज भट्टले बताए । 

यस्तै ८४ ओटै वडामा १ सय ५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको सहसचिव चन्दले बताए । 

नेपाली कांग्रेस सभापति चतुरबहादुर चन्दलाई उम्मेदवार बनाएर चुनावी मैदानमा रहेकाले कार्यकर्ता खुसी भएका क्षेत्रीय सभापति भट्टको दाबी छ । 

नेपाली कांग्रेसले बैतडीमा आफ्नो पुरानो साख फर्काउने योजनासहित चुनावी प्रचारप्रसारमा जुटेको जिल्ला निर्वाचन प्रचारप्रसार समितिका संयोजक बिरबहादुर बिष्टले बताए । अहिले कांग्रेसका कार्यकर्ताहरुले आफ्नै चुनाव चिन्ह रुखमा मतदान गर्ने अवसर पाएर कार्यकर्ता उत्साहित भएका उनको भनाइ छ । 

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले माओवादीसँग चुनावी गठनबन्धन गरेको थियो । यो पटकको निर्वाचनमा अन्य दलजस्तै नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा रहेको बिष्टले बताए । 

सबै तहका निर्वाचन प्रचारप्रसार समिति चुनावी अभियानमा होमिएका छन् भने उम्मेदवार चन्दसहितको टोली घरदैलो अभियानमा खटिएको सहसचिव चन्दले बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update