बैतडी–बैतडीमा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुमध्ये कोही विरासत जोगाउने ध्यानमा रहेका छन् भने कोही आफ्नो पुरानो साख फर्काउने दाउमा रहेका छन् ।
प्रतिनिधि सभा सदस्य पदका लागि एक जना स्वतन्त्रसहित ११ जनाले मनोनयन दर्ता गरेर चुनावी अभियानमा होमिएका छन् ।
यहाँ एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी लगायत दलहरु चुनावी मैदानमा छन् ।
गत निर्वाचनमा ३३ हजार ६ सय ११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका एमाले नेता दामोदर भण्डारी पाचौं पटक प्रतिस्पर्धामा उत्रिएका छन् । भण्डारीले २०७० सालको दोस्रो संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए । उनी एक पटक अर्थराज्यमन्त्री र तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री भइसकेका छन् । उनी गत भदौ २३ को जेन–जी आन्दोलनका बेला पनि उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रहेका थिए ।
एमालेले बैतडीमा विगतको आफ्नो विरासतलाई कायम गर्ने हिसाबले चुनावी अभियान सञ्चालन गरेको एमालेका केन्द्रीय सदस्य गोविन्द गिरीले बताए । उनले भने, ‘हामीले विकास निर्माणका साथै पछिल्लो समयमा देखिएका समस्या समाधानका लागि गर्नुपर्ने कामसहितका एजेण्डा लिएर चुनावी मैदानमा होमिएका छौं ।’
नेपाली कांग्रेसले पनि अहिलेको निर्वाचनमा आफ्नो पुरानो साख फर्काउने कसरत गरिरहेको छ । कांग्रेसले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । कांग्रेसले २०७० साल यता बैतडीमा प्रतिनिधि सभाको निर्वाचन जित्न सकेको छैन् ।
पार्टी सभापति नयाँ एजेण्डासहित चुनावी मैदानमा रहेकाले आफूहरु चुनाव जित्नेमा विश्वस्त रहेको कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए ।
नेपाल विद्यार्थी संघ हुँदै नेपाल शिक्षक संघको राजनीतिबाट पार्टी राजनीतिमा लागेका चन्द जिल्लाको पार्टी सभापति समेत भएका हुन् । उनले भने, ‘बैतडी जनताले विश्वास गरेर जिताएमा जिल्लाको नाम उचो रहने गरेर काम गर्नेछु । जसरी क्यानको नेतृत्व गरेर मैले खेल क्षेत्रमा विकास गरेको छु, त्यसरी नै जनप्रतिनिधि भएमा काम गर्ने इच्छाशक्ति रहेको छ ।’
लामो समय नेपाली कांग्रेसको राजनीति गरेका हरिमोहन भण्डारी यसपाली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन् । २०७४ सालमा कांग्रेस र २०७९ सालमा स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा पराजित भएका भण्डारी यसपाली भने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जित्ने दाबी गरिरहेका छन् ।
बैतडीमा केही दिन पहिला गरेको पत्रकार सम्मेलनमा उनले आफूले गरेको काम र मतदाताले नयाँपन खोजेकाले आफू चुनाव जित्ने दाबी गरेका छन् ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वजिल्ला सभापति समेत रहेका परमानन्द भट्टलाई पहिलोपल्ट उम्मेदवार बनाएको छ । उनी तत्कालीन एकीकृत समाजवादीबाट आएका हुन् । भट्ट एमाले बैतडीका संस्थापक हुन् । उनी एमालेको नेतृत्वमा हुँदा अहिलेका एमाले उम्मेदवार दामोदर भण्डारी विद्यार्थी राजनीतिमा थिए । भण्डारीलाई उनै भट्टले राजनीतिमा डोर्याएको उनका निकटस्थहरुले बताउँदै आएका छन् । अहिलेको निर्वाचनमा उनै भट्ट भण्डारीको विरासत तोड्न प्रतिस्पर्धामा उत्रेका छन् । समग्र बैतडीको विकास र जिल्लामा सुशासन कायम गर्न आफ्नो उम्मेदवारी रहेको भट्टले बताए ।
यस्तै राप्रपाले पनि यो पालीको चुनावमा युवा नेता भुपेनबहादुर चन्दलाई चुनावी मैैदानमा उतारेको छ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा समेत रहेका भुपेनबहादुर चन्द पाइलट, इन्जिनियर हुँदै राजनीतिमा उदाएका हुन् । उनी बैतडीमा राप्रपाको पुरानो साख फर्काउन चहान्छन् ।
बैतडीमा मुख्य दलहरुबीच नै चुनावी प्रतिस्पर्धा हुने धेरैले आँकलन गरेका छन् ।
यो चुनावमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट रामसिंह कुँवर, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, आमजनता पार्टीबाट विसनसिंह बोहरा, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्त पनि मैदानमा रहेका छन् ।




