Sagun Khabar
श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रको नयाँ काम : आकस्मिक बिरामीलाई इन्धन खर्च दिने  

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–३ स्थित श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रले आफ्नो सेवा क्षेत्रभित्रका आकस्मिक बिरामीहरुलाई निशुल्क यातायातको सुविधा दिने भएको छ । 

केन्द्रले जय नागार्जुन बहुउद्देश्यीय कृषक समूहसँग सम्झौता गरेर आकस्मिक बिरामीहरुका लागि निशुल्क यातायातका साधन उपलब्ध गराउने भएको हो । 

दुर्घटना तथा अन्य आकस्मिक बिरामीहरुलाई तुरुन्त स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने भएकाले त्यस्ता बिरामीहरुका लागि सवारी साधनको व्यवस्थापन गरेर इन्धन खर्च उपलब्ध गराउन  सम्झौता गरिएको श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख मोहनदत्त कलौनीले बताए । यो सम्झौता अनुसार मोटरसाइकलमा बिरामी ओसारपोसार गर्नुपर्ने प्रति किलोमिटर एक लिटर पेट्रोल उपलब्ध गराइनेछ भने चारपांग्रे सवारी साधनको हकमा प्रति १० किलोमिटर एक लिटर डिजेल उपलब्ध गराइनेछ । 

भौगोलिक विकटताका कारण समयमै स्वास्थ्य संस्था पुग्न नसक्ने बिरामीहरुका लागि यो सम्झौताले सहयोग पुग्ने उनले बताए । इन्धन बापतको रकम स्वास्थ्य केन्द्रको सिफारिशमा कृषि समूहले भुक्तानी गर्ने सम्झौतामा उल्लेख गरिएको छ । 

आधारभूत स्वास्थ्य सेवामा वडाबासीहरुको पहुँच पुर्याउन स्थानीय सरोकारवालाहरुसँग मिलेर नयाँ कामको शुरुवात गरिएको स्वास्थ्य केन्द्र प्रमुख कलौनीले बताए । यस्तै अन्य सहयोगी संघसंस्था र व्यक्तिहरुसँग समेत सम्झौता गर्ने तयारी भइरहेको उनले बताए । उनले भने, ‘हामीले स्वास्थ्य क्षेत्र सुधारमा सबैको साथ खोजेका छौं । सबै संघसंस्था र व्यक्तिहरुसँगको सहकार्यमा स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने प्रयास गरिरहेका छौं ।’ 

आकस्मिक बिरामीहरुलाई सहजै यातायातका साधन उपलब्ध गराउने वडाभित्र रहेका चालकहरुको सम्पर्क नम्बरसहितको सूची तयार गरी महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र समूहका सदस्यहरूलाई केन्द्रेले उपलब्ध गराउने बताइएको छ । 

श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएर बाहिर रेफर गर्नुपर्ने बिरामीहरुलाई समेत इन्धन खर्च उपलब्ध गराइने केन्द्र प्रमुख कलौनीले बताए । 
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update