Sagun Khabar
कोरोनादेखि रोजगारीसम्मको योगदान, भण्डारी भन्छन्–जनताले जिताउनेछन्

बैतडी -  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारीले बैतडीमा पत्रकार सम्मेलन गर्दै आफ्नो राजनीतिक दृष्टिकोण र प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले वर्तमान अवस्थामा रहेका न्यायिक र संवैधानिक पूर्वाधारहरूलाई स्वतन्त्र, सक्षम र प्रभावकारी बनाउने विषयमा संसदमा सशक्त पहल गर्ने प्रतिबद्धता जनाए । साथै उनले पूर्वाधार विकास, कृषि क्रान्ति, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा सुधार, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता आफ्नो प्राथमिक एजेन्डा रहेको बताए ।

आफ्नो विगतको राजनीतिक तथा सामाजिक भूमिकाको स्मरण गर्दै भण्डारीले युवा रोजगारी सिर्जनाका लागि गरेका पहल, कोरोना महामारीका बेला बस बुकिङ गरी काठमाडौंका विभिन्न स्थानबाट जिल्लावासीलाई सुरक्षित रूपमा घर फर्काएको अनुभव लगायतका कार्यहरू उल्लेख गरे ।

उनले विगतका मन्त्री र उम्मेदवारहरूजस्तो झुटा आश्वासन र भाषण नगर्ने, बरु थोरै प्रतिवद्धता गरेर त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने राजनीति गर्ने दृढ अठोट व्यक्त गरे । साथै, आफू जनताको बहुमतबाट निर्वाचित हुनेमा पूर्ण विश्वस्त रहेको दाबी समेत गरे ।

पत्रकार सम्मेलनमा भण्डारीले परम्परागत दलहरूले जनतामा पैदा गरेको निराशालाई चिर्दै नयाँ सोच, नयाँ शैली र जवाफदेही राजनीतिक अभ्यासमार्फत परिवर्तन सम्भव रहेको उल्लेख गरे।

भण्डारीले आत्मनिर्भर र स्वाभिमानी नेपालको पुनर्जागरण आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गरे । भदौ २३–२४ मा भएको नेन्जी आन्दोलन केवल विरोधको कार्यक्रम मात्र नभई दशकौँदेखि मौलाउँदै आएको सिन्डिकेट, भ्रष्टाचार र अवसरविहीनताको विरुद्धको ऐतिहासिक संघर्ष भएको स्पष्ट पारे ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update