बैतडी- बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर आज बिहान करिब ९ः३० बजेको समयमा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर दार्चुला जिल्लाको महाकाली नगरपालिका–५ गल्फैका अन्दाजी २१ वर्षका चालक करन बुढामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले बताए । ट्याक्टरमा सवार अन्य तीन जना घाइते भएका छन् ।
कैलालीको टिकापुर नगरपालिका–७ का अन्दाजी ४० वर्षीय सुरज घर्ति मगर र उनका छोरा अन्दाजी १८ वर्षीय सिद्धार्थ घर्ति मगर र टिकापुर –६ का अमित विक घाइते भएका उहाँले बताए । घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये सुरजको अवस्था गम्भीर रहेको छ । अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



