बैतडी – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवक्ता हरिशप्रसाद भट्टलाई समानुपातिक उम्मेदवारको रुपमा अघि सारेको छ ।
बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाण्डौं घर भएका भट्ट पेशाले अधिवक्ता हुन् । विगत एक दशकदेखि वैकल्पिक राजनीतिमा सक्रिय रहँदै आएका उनी काठमाण्डौंका विभिन्न कलेजहरूमा संवैधानिक कानुनका अध्यापक रहेका छन् ।
सामाजिक,राजनीतिक विषयमा विभिन्न राष्ट्रिय पत्रिकाहरूमा लेख रचना प्रकाशित गदै आएका अधिवक्ता भट्ट यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कानून तथा सूचनासम्बन्धि विज्ञ सल्लाहकार थिए ।
२०७० सालदेखि सुदूरपश्चिममै तत्कालिन विवेकशील नेपाली दलबाट राजनीति शुरु गरेका उनी पछि विवेकशील साझा पार्टीका केन्द्रीय प्रवक्तासम्म भएका थिए । स्व. उज्ज्वल थापासंगै भट्टले वैकल्पिक राजनीतिको वैचारिक र रणनीति निर्माणमा नेतृत्वदायी भूमिका खेलेका थिए । हालै भएको जेनजी आन्दोलनको शान्तिपूर्ण व्यवस्थापनमा समेत उनले कानूनी तथा नीतिगत नेतृत्व गरेका थिए । २७ वर्षिय भट्टलाई सहकर्मीहरूले ‘जेनजी वकिल’ भनेर सम्बोधन गर्ने गरेका छन् ।
रास्वपा–बालेनपक्षबिच वृहत एकता पछि काठमाडौं महानगरपालिकाका मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को सिफारिसमा भट्टको नाम रास्वपाको समानुपातिक सूचीमा समेटिएको हो । यसअघि पनि जेनजी आन्दोलनका विभिन्न घटकहरूले भट्टलाई समानुपातिकतर्फको बन्दसूचिमा सामूहिक सिफारिस गरेका थिए ।
वैकल्पिक राजनीतिमा वैचारिक र रणनीतिक नेतृत्वको छवि बनाएका भट्ट निर्वाचन रणनीति र जनसम्पर्क व्यवस्थापनमा समेत पोख्त मानिन्छन् ।
युवाहरुको आवाजलाई नीतिगत तहसम्म पुर्याउन आफ्नो उम्मेदवारी रहेको अधिवक्ता भट्टले बताए ।




