Sagun Khabar
बैतडीको कठपते क्षेत्रमा सेनाको फाइरिङ्ग अभ्यास सञ्चालन

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ कठपते क्षेत्रमा नेपाली सेनाको फाइरिङ्ग अभ्यास शुरु भएको छ । 

आइतबारदेखि उक्त क्षेत्रमा सामूहिक तालिममा सहभागी सकलदर्जाहरुका लागि फाइरिङ्ग अभ्यास सञ्चालन भएको बैतडीस्थित नेपाली सेनाको श्रीबक्स गुल्मका गुल्मपति,सेनानी सफल थापाले जानकारी दिए । 

यही माघ ८ गतेसम्म उक्त क्षेत्रमा फाइरिङ्गसहितका सैनिक अभ्यासहरु सञ्चालन हुने भएकाले वनजंगल क्षेत्रमा घाँस–दाउरा, पशुचौपाया चरिचरन लगायतका कार्यका लागि नजान आग्रह गरिएको सेनानी थापाले बताए । 

कठपतेको फाइरिङ्ग रेञ्ज इलाकामा नेपाली सेनाका सकल दर्जाहरुको अभ्यास हुने भएकाले दिउँसो तथा रातिको समयमा उक्त क्षेत्रमा नजान स्थानीयबासिन्दाहरुलाई आग्रह गरिएको छ । 

फाइरिङ्ग अभ्यास सञ्चालन भइरहेको बिषयमा नगरपालिका, वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र सामुदायिक वन उपभोक्ता समितिलाई समेत जानकारी गराइसकिएको सेनानी थापाले बताए । अभ्यासको क्रममा फाइरिङ्ग समेत गर्नुपर्ने भएकाले कुनैपनि अप्रिय घटना नहोस भनेर अभ्यास अवधिभर उक्त क्षेत्रमा नजान आग्रह गरिएको हो ।

Safal-thapa-1768736319.jpg
 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update