बैतडी –बैतडीका १२९ मतदानस्थल मध्ये ३३ ओटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् । स्थानीय प्रशासनले सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र समान्य गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
जिल्लाका २८ ओटा मतदानस्थल संवेदनशील र ६८ ओटा मतदानस्थल समान्यको सूचीमा रहेका उनले बताए ।
आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर काम गरिरहेको छ । मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
विगतको निर्वाचनको समीक्षा, संञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयहरूलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको प्रहरी निरीक्षक सिंहले बताए ।
जिल्लाका दुर्गम स्थानमा रहेका मतदानस्थलहरुको अनुगमन निरीक्षण गर्ने काम समेत भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । कच्ची सडकको पहुँच रहेका मतदानस्थलमा पुग्ने सडकलाई सुधार गर्ने लगायतका बिषयमा स्थानीय तहहरुसँग समेत छलफल गरिएको उनले बताए ।
१ सय २९ ओटा मतदानस्थल रहेको बैतडीमा २ सय १४ ओटा मतदान केन्द्र रहेका छन् । जिल्लामा १ लाख ५६ हजार ३७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।




