बैतडी–बैतडीका दुई स्थानीय तहमा महिनौंदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक–प्रशासनिक कामकाज ठप्प भएको छ ।
जिल्लाका सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन रहेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यी दुवै पालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा समस्या भएको छ ।
सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको सरुवा भएयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको छ । गएको पुस ६ गते मन्त्रालयले सुर्नयामा खगेन्द्र भारतीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको थियो । तर उनको गाउँपालिकामा हाजिर नहुँदै जिल्ला निर्वाचन कार्यालय बैतडीमा सरुवा गरिएको थियो ।
पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक काम रोकिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा सबै काम प्रभावित भएका उनले बताए ।
यस्तै कात्तिक अन्तिम साता मन्त्रालयले पञ्चेश्वर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीको सरुवा बैतडीकै मेलौली नगरपालिकामा गरेपछि पञ्चेश्वर प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ । दुई महिना बित्दा पनि मन्त्रालयले प्रशासकीय अधिकृत नपठाएपछि पालिकाको कामकाज ठप्प भएको थियो । प्रशासकीय अधिकृत नपठाए मन्त्रालयमै धर्ना बस्ने गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले चेतावनी दिएपछि बिरसिंह भण्डारीलाई पुस १४ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको छ ।
मन्त्रालयले पठाएको १९ दिन पुग्दा पनि भण्डारी पालिकामा हाजिर नभएका गाउँपालिका अध्यक्ष चन्दले बताए ।
पालिकामा शिक्षा शाखा प्रमुख महामल घटाल अधिकृतस्तर सातौं (शिक्षा) तहका सिनियर कर्मचारी भएकाले उनले आफु निमित्त प्रमुख प्रशासकीय अधिकृत बस्न चाहेका छैनन् । घटालले पुस ९ गते मन्त्रालयलाई लामो समयसम्म एउटै कार्यालयमा रही कार्यसम्पादन गर्नुपर्दा कठिनाइ हुने र प्रभावकारी कार्यसम्पादन गर्न नसकिने हुँदा पालिकाबाट माग भएबमोजिम अन्य कर्मचारीलाई आर्थिक प्रशासनिकको जिम्मा प्रदान गरिदिन अनुरोध गदै पत्र समेत पठाएका थिए ।
मन्त्रालयकी सचिव पार्वती शर्मालाई अध्यक्ष चन्दले ह्वाट्सएपमा पत्र पठाएर विना विकल्प पालिकाका कर्मचारीलाई सरुवा गरेर तीन महिनासम्म पनि प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन किन गर्न नसकिएको भन्दै प्रश्न गरेका छन् ।
आफू विदामा रहेकाले अहिलेसम्म मन्त्रालयले सरुवा गरेको जानकारी नपाएको पञ्चेश्वरमा खटाएका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । भण्डारी अहिले सहरी विकास मन्त्रालय अन्तर्गतका कार्यालयमा शाखा अधिकृत छन् । भण्डारीले यहाँ आउन नचाहेकाले विभिन्न वाहाना गरेको अध्यक्ष चन्दको आरोप छ ।




