बैतडी–नेकपा एमाले बैतडीका नेता महादेव भट्टको नाम समानुपातिक बन्द सूचीमा राखिएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले समानुपातिक प्रणालीबाट नाम फिर्ता लिएका ५ जनाको ठाउँमा पूर्ति गरेर नयाँ नाम निर्वाचन आयोगमा पेश गरेको हो । उक्त सूचीमा बैतडीका महादेव भट्टको नाम खस आर्य कलस्टरमा समावेश गरिएको एमालेका केन्द्रीय सदस्य गोविन्द गिरीले बताए ।
एमाले स्रोतका अुनसार बैतडीका महादेव भट्टसहित धादिङका लक्ष्मणकुमार शर्मा, इलामकी सरस्वती राई, रौतहटकी सरस्वती कुमारी र मकवानपुरका मेम्बरबहादुर लोलाई समानुपातिक बन्दसूचीअन्तर्गत विभिन्न क्लष्टरको उम्मेदवार बनाइएको हो ।
एमालेको समानुपातिक बन्द सूचीमा अटाएका भट्ट एमालेको जिल्ला अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । पार्टीको विभिन्न तहमा आफूले जिम्मेवारी पूरा गरेको भट्टले बताए ।
एमाले फुटेको बेला एकीकृत समाजवादीमा आवद्ध भएका भट्ट पछि एमालेमै फर्किएका थिए । अहिले एमालेको प्रदेश कमिटिमा रहेका भट्टलाई समानुपातिक बन्द सूचीमा समावेश गरिएको केन्द्रीय सदस्य गिरीले बताए ।
पहिलो चरणमा एमाले बैतडीबाट समानुपातिक उम्मेदवार नराखिएको भएपनि नाम फिर्ता लिएका ठाउँमा भट्टको नाम राखिएको गिरीले बताए ।
आफूलाई पार्टीले न्याय गरेको बताउँदै भट्टले चुनावी मैदानमा सक्रिय हुने बताए ।




