बैतडी–बैतडीमा निर्वाचन प्रहरीका लागि माग गरेभन्दा कम संख्यामा आवेदन परेको छ ।
यही माघ १ गतेसम्म निर्वाचन प्रहरीमा आवदेन दिने मिति तोकिएकोमा कम संख्यामा आवेदन परेपछि दुई दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले बताए ।
बैतडीमा नेपाल प्रहरीतर्फ १ हजार २७९ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ९६ जना निर्वाचन प्रहरी भर्ना गर्ने योजना रहेको छ । तर नेपाल प्रहरीतर्फ १ हजार १ सय जनाको मात्रै आवेदन परेकाले आवेदन दिने म्याद थपिएको प्रहरी निरीक्षक सिंहले बताए । यसअघि जिल्ला प्रहरी कार्यालयमा मात्रै आवेदन दिने व्यवस्था रहेकोमा थपिएको समयमा इलाका प्रहरी कार्यालय पाटनमा समेत आवेदन दिन सकिने छ ।
सशस्त्र प्रहरी बलतर्फ भने ९६ जनाको माग गरिएकोमा १ सय ९ जनाको आवदेन परेको प्रहरी निरीक्षक सिंहले बताए ।
बैतडीमा नेपाल प्रहरीतर्फ १ हजार २७९ जना, सशस्त्र प्रहरी बलतर्फ ९६ जना गरेर १ हजार ३७५ जना निर्वाचन प्रहरी परिचालन गरिने प्रहरी निरीक्षक सिंहले बताए ।
सुदूरपश्चिमका बैतडीसहित पाँच जिल्लामा माग गरेभन्दा कम संख्यामा आवेदन परेको बताइएको छ ।
बैतडी, डडेल्धुरा, डोटी, अछाम र बझाङमा निर्वाचन प्रहरीको लागि कम आवेदन परेको बताइएको छ ।




