बैतडी–बैतडीको सुर्नया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएपछि अध्यक्ष अम्मरबहादुर कुँवरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ढोका ढक्ढकाएका छन् ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक काम ठप्प भएपछि मन्त्रालयमै पुगेर आग्रह गरिएको अध्यक्ष कुँवरले बताए । पटक–पटक पत्राचार गर्दा समेत मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि मन्त्रालयमै पुगेर लिखित रुपमा आग्रह गरेको उनले बताए । उनले भने, ‘आज पनि म मन्त्रालयमै पुगेर प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गरिदिन आग्रह गरेको छु । एक–दुई दिनभित्र गर्छौं भन्ने आश्वासन पाएको छु ।’
गाउँपालिकामा गएको दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सबै कामहरु रोकिएका छन् । चालु आर्थिक बर्षका विकास निर्माणका योजना कार्यान्वयनमा समस्या देखिएको छ भने कर्मचारीहरुको तलब, सामाजिक सुरक्षा भत्ता लगायतका सबै निकासाहरु रोकिएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गएको कार्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएको थियो । त्यसयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको छ ।
गएको पौष ६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत खगेन्द्र भारतीलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । तर भारती गाउँपालिकामा हाजिर नहुँदै जिल्ला निर्वाचन कार्यालय बैतडीमा सरुवा गरिएको थियो ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरु रोकिएका गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले मन्त्रालयलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ । यथाशीघ्र प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गरेर गाउँपालिकाको कामकाजमा सहजीकरण गरिदिन पत्रमा आग्रह गरिएको छ ।
गाउँपालिकामै कार्यरत कर्मचारीहरु मध्येबाट प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन अनिच्छुक रहेका पाइएको छ ।
सुर्नया गाउँपालिकामा विभिन्न माग राखेर जेनजी समूहको अगुवाईमा ३९ दिन तालाबन्दी गरिएको थियो । उनीहरुका माग सम्बोधन गर्ने सहमतिपछि तालाबन्दी खोलिएको थियो । तर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा केही काम अगाडि बढाउन नसकिएको अध्यक्ष कुँवरले बताए । उनले भने, ‘निर्वाचन नजिक आइरहेको छ । अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था हुन सकेको छैन् । निर्वाचन आचारसंहिता जारी भएपछि कर्मचारीको सरुवा हुँदैन् । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन मन्त्रालयमा फेरि आग्रह गरेको छु ।’
सामाजिक सुरक्षाभत्ता समयमा नपाउँदा लाभग्राहीहरु पनि निराश भएका छन् । यसअघि तालाबन्दीका कारण सामाजिक सुरक्षा भत्ता निकासामा ढिलाइ गरेको गाउँपालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा सबै काममा बाधा पुगेको अध्यक्ष कुँवरले बताए । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा संघीय सरकारले शाखा अधिकृत पठाउने गरेको छ । तर पालिकाहरुमा समयमै प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन गर्न नसक्दा समस्या पैदा हुने गरेको छ ।




