Sagun Khabar
नेकपा बैतडीबाट भट्ट सर्वसम्मत उम्मेदवार

बैतडी–आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बैतडीबाट परमानन्द भट्टको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

यसअघि परमानन्द भट्ट र नरेन्द्र कुँवर (विजयसुन्दर)को नाम सिफारिस गर्ने निर्णय गरे पनि दुवै उम्मेदवारले पार्टीका केन्द्रीय नेताहरूसँग बसेर छलफल गरी भट्टलाई बैतडीबाट प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार बनाएको नेकपा बैतडीका नेता लक्ष्मीदत्त जोशीले जानकारी दिए ।

भट्ट यसअघि एकीकृत समाजवादीमा आबद्ध थिए । उनी पार्टीको पोलिट्ब्युरो सदस्य थिए ।  कुँवर नेकपा माओवादी केन्द्रमा आबद्ध रहेका थिए । कुँवर यसअघिको प्रतिनिधिसभा सदस्यमा बैतडीबाट नेपाली कांग्रेस र माओवादीको गठबन्धनबाट चुनाव लडेका थिए । चुनावमा एमालेका दामोदर भण्डारीसँग उनी पराजित भएका थिए ।

जिल्ला विकास समितिमा सभापतिसमेत रहेका भट्ट बैतडीमा बलिया उम्मेदवार मानिन्छन् । उनी एमाले बैतडीका संस्थापक नेता पनि हुन् ।

यसअघि एमालेले दामोदर भण्डारीलाई उम्मेदवार सिफारिश गरिसकेको छ भने कांग्रेसले सभापति चतुरबहादुर चन्दको नाम उम्मेदवारका लागि सिफारिश गरेको छ । 

यस्तै रास्वपाबाट हरिमोहन भण्डारी उम्मेदवार बन्ने निश्चित छ भने राप्रपाले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेनबहादुर चन्दलाई अगाडि सारेको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update