बैतडी–बैतडीको पाटन नगरपालिका–६ हिरापुरस्थित डाँडाबाग आधारभूत विद्यालयको ३३ औं बार्षिकोत्सव समारोह विविध कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रबहादुर कठायतको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाट प्रमुख अतिथी रहेका थिए । उक्त समारोहमा जिल्ला समन्वय समिति सदस्य करनसिंह कठायत, पाटन नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कपील केसी, रास्वपाका नेता हरिमोहन भण्डारी, समाजसेवी नारायण भण्डारी लगायतको सहभागिता रहेको थियो ।
२०४९ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा ८ सम्मको पढाइ हुने गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मण कठायतले बताए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक कठायतले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन पेश गरेका थिए । यस्तै समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको बताइएको छ ।
यस्तै विद्यालयको चौतर्फी विकासमा सहयोग पुर्याउने व्यक्तिहरुलाई दोसल्लासहित सम्मान गरिएको विद्यालयका संस्थापक करनसिंह कठायतले बताए ।
बार्षिकोत्सवको अवसरमा समाजसेवी नारायण भण्डारीले विद्यालयलाई एक थान हारमोनियम उपलब्ध गराएका छन् ।
यस्तै शिक्षक अभिभावक संघका सदस्य वसन्त पन्तले ९ जना उत्कृष्ट बालबालिकाहरुलाइ नगद पुरस्कारसहित शैक्षिक सामग्री उपलब्ध गराएका विद्यालयले जनाएको छ ।




