बैतडी–नेपाली सेनाले बैतडीको देवलहाटमा रहेको पिपल चौतारोलाई पुनः निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेको छ । उक्त ठाउँमा रहेको ऐतिहासिक शिला र चौतारो जीर्ण भएपनि नेपाली सेनाको बैतडीस्थित श्रीबक्स गुल्मले पुनःनिर्माण गरेको हो ।
बैतडी सदरमुकाम नजिकै रहेको यो चौतारो ऐतिहासिक रहेको र नेपाली सेनाको शीघ्र प्रभावी योजना अन्तर्गत पुनःनिर्माण गरिएको श्रीबक्स गुल्मका गुल्मपति सफल थापाले बताए ।
नेपाल एकीकरणको समयमा भारतको अल्मोडाबाट ४५ किलोमिटर उत्तरतर्फ गणनाथ मन्दिर नजिक अंग्रेजसँगको लडाईँमा विरगती प्राप्त गरेका हलदल शाह र उनका छोरा नन्दुको काजक्रिया यसै पीपलको रुखमुनि गरिएको थियो । जुन कुरा यहाँ रहेको शिलालेखमा उल्लेख गरिएको छ । साके संवत १७३७ मा हलदल शाह र उनका छोराले विरगती प्राप्त गरेपछि उनकी श्रीमती सति गएकी थिइन् । महाकाली नदीमा दाहसंस्कार गरिएका उनीहरुको काजक्रिया भने यसै ठाउँमा गरिएको बताइएको छ । ऐतिहासिक शिलासहितको चौतारो भएकाले नेपाली सेनाले पुनःनिर्माण गरेको गुल्मपति थापाले बताए ।
पश्चिमी क्षेत्रमा बहादुर शाहाका सेनासँग लामो लडाईँ लड्ने राजाका रुपमा परिचित झुलिचनले राज गरेको कुल्लेककोट समेत यसै पीपल चौतारी नजिकै छ । पौराणिक महत्व बोकेका सप्तदेवल समेत रहेको यस क्षेत्रको पौराणिक एवं एतिहाँसिक महत्व रही आएको छ ।
नेपाली सेनाले स्थानीयको आग्रह अनुसार जीर्ण चौतारो र बामुनीआमा मन्दिर जाने बाटो निर्माण गरेपछि यहाँका स्थानीय समेत खुसी भएका छन् । छोटो समयमा नेपाली सेनाले राम्रो काम गरेको स्थानीयहरुको भनाइ रहेको छ ।
सडक पुग्नुभन्दा पहिले नुनतेलका लागि बझाङ, बाजुरा, अछाम, दैलेक, कालीकोट सम्मका बटुवाहरुको समेत यो ठाउँ विश्रामस्थल थियो । यहाँ नजिकै रहेका सप्तदेवलहरुमा समेत पुराना तरवार र भाँडाकुडाहरु छन् । जो संरक्षणको अभावमा नष्ट हुँदै गएका बताइएको छ ।
पुनः निर्माण गरिएको चौतारो आज एक कार्यक्रमकाबीच स्थानीयहरुलाई हस्तान्तरण गरिएको गुल्मपति थापाले बताए ।




