Sagun Khabar
प्रतिनिधि सभा निर्वाचन : बैतडीमा १२९ मतदानस्थल, २१४ मतदान केन्द्र 

बैतडी–आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा १ सय २९ मतदानस्थल र २ सय १४ मतदान केन्द्र कायम भएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार यो निर्वाचनका लागि चारओटा मतदान केन्द्र थप भएका छन् एक मतदान केन्द्र कटौती भएको छ । मतदानस्थल भने अघिल्लो निर्वाचनकै यथावत रहेका छन् । 

जिल्लाका १० ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २२ ओटा मतदानस्थल र ३४ ओटा मतदान केन्द्र कायम गरिएका छन् । यस्तै पाटन नगरपालिकामा १९ ओटा मतदानस्थल र २९ ओटा मतदान केन्द्र कायम गरिएका छन् । पुर्चौंडी नगरपालिकामा १७ ओटा मतदानस्थल र ३० ओटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए । 

यस्तै सिगास गाउँपालिकामा १४ ओटा मतदानस्थल र २० ओटा मतदान केन्द्र कायम गरिएका छन् । मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा समान १२ ओटा मतदानस्थल र २० ओटा मतदान केन्द्र कायम गरिएका छन् । 

यस्तै डिलाशैनी गाउँपालिकामा ९ ओटा मतदानस्थल र १७ ओटा मतदान केन्द्र कायम गरिएका छन् । ९ ओटा मतदानस्थल रहेको पञ्चेश्वरमा १५ ओटा मतदान केन्द्र रहेका छन् । 

यस्तै सुर्नया गाउँपालिकामा ८ ओटा मतदानस्थल र १५ ओटा मतदान केन्द्र कायम गरिएका छन् भने शिवनाथ गाउँपालिकामा ७ ओटा मतदानस्थल र १४ ओटा मतदान केन्द्र कायम गरिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update